Logo
२३ बैशाख २०८१, आईतबार
(January 5, 2017)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारमा ज्यान गुमाउनेको संख्या बढ्दै !

काठमाडौं, २१ पुस । पछिल्लो समय वैदेशिक रोजगारीको शिलशिलामा ज्यान गुमाउने नेपालीको संख्या बढ्दो छ । नेपालबाट वैदेशिक रोजगारमा मिठामिठा सपना बुनेर नेपाली युवायुवति विदेशिने गरेका छन् तर विदेशमा भने जस्तो हुदैन ।

गत वर्ष अर्थात सन् २०१६ मा मात्र कुवेतमा २५ जना नेपाली कामदारहरूले ज्यान गुमाएका छन् । नेपाली दुतावास कुवेतका अनुसार १८ पुरुष र ७ महिला गरी २०१६ मा २५ जनाले ज्यान गुमाएका हुन् ।

सन् २०१६ को एक बर्षमा ह्दयघात, मस्तिष्क पक्षघात, सुतेको सुत्यै हुने, प्राकृतिक मृत्यु वा बिभिन्न रोगका कारण ९ जना, सडक दुर्घटनामा ५ जना र आत्महत्यामा ४ जना गरी १८ जना पुरुष कामदारहरूले ज्यान गुमाएका छन् ।

त्यसैगरी ह्दयघात, मस्तिष्क पक्षघात वा बिभिन्न रोगका कारण ३ जना, सडक दुर्घटनामा १ जना, आत्महत्यामा २ जना तथा सुत्केरी हुने समयमा गर्भिणी १ जना गरी ७ जना महिला कामदारहरूले ज्यान गुमाएका छन् ।

प्रभावका अनुसार, कुवेतमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै बिभिन्न कारणले मृत्यु हुने र आत्महत्या गर्नेहरूको संख्या पनि बढ्दै गएको छ ।

गत जनवरी १ तारिको दिन कुवेतको ‘अल यासरा फुड’ कम्पनीमा कार्यरत मोरङ घर भएका करिब २६ बर्षिय जीवन भट्टराईलाई सोही कम्पनीमा कार्यरत रसुवा घर भएका राजेश ग्यावाले चक्कू प्रहार गरी हत्या गरेको घटनाका बारेमा कम्पनी लगाएत कुवेत प्रहरीले दुताबासलाई जानकारी गराएको दूताबासले जनाएको छ ।

यसैबिच,गएको वर्ष युएईमा ६६ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउने मध्ये ६० जना पुरुष र ६ जना महिला छन् ।

यो सख्या अघिल्लो वर्ष भन्दा दुईजनाले धेरै हो । सन् २०१५ मा ६४ जना नेपाली कामदारको ज्यान गएको थियो । हृदयघात, मस्तिष्क पक्षघात तथा धेरै रक्सी खाएका कारण सन् २०१६ मा ३६ जनाको ज्यान गएको छ । यसलाई प्राकृतिक कारण भनिएको छ ।

२२ जनाको हृदयघातका कारण, ८ जनाको बिभिन्न रोग लागेर र ५ जनाले धेरै जाडरक्सी खाएका कारण ज्यान गुमाएका हुन् । एक जनाको मृत्युको कारण खुलेको छैन । युएईस्थित नेपाली दूतावासको तथ्याँक अनुसार १२ जनाले आत्महत्या गरेको र १८ जना दुर्घटनामा परेका छन् ।

यसमध्ये ८ जनाको सडक दुर्घटना र अन्य ४ जनाको जलेर तथा पानीमा डुबेर ज्यान गएको हो । त्यस्तै ३ जनाको कार्यस्थलमै दुर्घटना भएको, २ जनाको हत्या भएको र बाँकी एक जनाको कारण खुलेको छैन।

२६ देखी ३० वर्ष उमेर समुहका १७ जना, ३१ देखी ३५ वर्षका १६ जना, २१ देखी ३५ वर्षका १२ जना रहेका छन् ।
३६ देखी ४० वर्षका ७ जना, ४१ वर्ष माथिका १० जना र २० वर्ष तलका ४ जनाले ज्यान गुमाएका छन् । गएको ४ वर्षमा २ सय ६३ जना नेपालीले यूएईमा ज्यान गुमाएका छन् । सडक दुर्घटनामा परेर युएईमा ज्यान गुमाउनेको सँख्या औसतमा गएको तीन वर्षमा समान छ ।

तर पछिल्ला ३ बर्षमा त्यसरी ज्यान गुमाउनेको सख्या भने आधाले घटेकाे छ । सडक दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये धेरैजना पहिलो पटक विदेशिएका नेपाली हुन् । गएको चार वर्षमा विविध कारणले ज्यान गुमाउनेको संख्या घटे पनि जाडरक्सीका कारण ज्यान गुमाउने नेपालीको संख्या बढेको छ ।

त्यस्तै जाडरक्सी खाएर झै झगडा तथा हो–हल्ला गरेका कारण पक्राउ परेर जेल जीवन बिताउने नेपालीको संख्या पनि बढेको दुतावासका द्वितिय सचिव कृष्ण अर्यालले बताए । पछिल्लो पाँच वर्षको तथ्याकं अनुसार युएईमा औसतमा ज्यान गुमाउने नेपालीको संख्या घट्दै गएको छ ।

दूतावास एक्लैले भन्दा पनि कामदार आफैं सचेत भई खानपिनमा विशेष ध्यान दिएर काम गरे मृत्युदर न्यून गर्दै लान सकिने युएईका लागि कार्यबाहक राजदूत नेत्रबहादुर टण्डनले बताए ।

प्रकाशित मिति: Jan 5, 2017

प्रतिक्रिया दिनुहोस्