Logo
१७ बैशाख २०८१, सोमबार
(December 14, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसद अवरोध जारी राख्ने ओली र बिजुक्छेवीच सहमती

भक्तपुर, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेबिच संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध जारी राख्न सहमति भएको छ । वर्तमान सन्दर्भमा कसरी अगाडि बढ्ने र संसदको अवरोध, संविधानको कार्यान्वयन एवं निर्वाचनको बारेमा दुई दलका नेताहरु बिच छलफल भएको हो ।

भेटवार्तापछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ्गले संसदको जारी अवरोध, संविधानको कार्यान्वयन र स्थानीय निकायको निर्वाचनका विषयमा कसरी अगाडि जाने भन्नेबारेमा छलफल भएको बताउनुभयो । नेम्वाङ्गले भन्नुभयो, ‘संसदमा आन्दोलन चलिरहेको छ, संसद अबरुद्ध भइरहेको छ, सडकमा पनि जनता उठिरहेको बेलामा अब कसरी अगाडि बढ्ने र आन्दोलनलाई कसरी लैजाने भन्नेबारेमा छलफल भएको छ ।

सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव देश र जनताको हित विपरित रहेको भन्नेबारेमा दुबै दल एकमत रहेको बताउँदै उहाँले भन्नुभयो, ‘छलफलमा संविधान संशोधनको विषयलाई लिएर संसदमा गरिएको अबरोधलाई निरन्तरता दिने र अझै सशक्त ढंगले अगाडि बढ्नेबारेमा दुई दलबिच छलफल भएको छ । उहाँका अनुसार संसदको अवरोध र सडक आन्दोलनलाई जारी राख्दै अझै सशक्त ढंगले लैजानेबारेमा दुबै दलको एउटै धारणा रहेको छ।

भेटवार्ता पछि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नलिएसम्म संसदको अवरोध जारी राख्नेबारेमा दुई दलबिच सहमति भएको बताउनुभयो । बिजुक्छेले भन्नुभयो, ‘संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई स्थगित गरेर अगाडि जानु हुँदैन, यसो गर्दा जनताको भावनामा ठेस पुग्छ र जनताले संसदलाई पनि विश्वास गर्दैनन्, पार्टीहरुलाई पनि विश्वास गर्दैनन्, प्रस्ताव फिर्ता नलिएसम्म संसद अबरुद्ध गर्नेकार्यलाई निरन्तरता दिनु पर्छ, यसका लागि सरकारलाई दबाब दिनुपर्छ ।’

स्थानीय निकायको निर्वाचनका लागि अझै ऐन कानून नै नबनेको अबस्थामा संसदमा दर्ता भएको विधेयकलाई थाती राखेर निर्वाचानमा जाने भन्ने चर्चा गर्दै सत्ता पक्षले प्रतिपक्षको ध्यान अन्तै मोड्न खाजेको उहाको भनाई थियो ।

बिजुक्छेले भन्नुभयो, ‘संशोधन प्रस्तावलाई फिर्ता नलिई थाती राखेर अगाडि बढ्ने पक्षमा एमाले पनि सहमत छैन र यसो गर्न पनि हुँदैन, नेपाल नै रहन्छ कि रहँदैन भन्ने अबस्था सिर्जना होला भन्ने डर भएको बेलामा प्रस्ताव फिर्ता पछि मात्रै संसद खोलेर अगाडि जानु पर्छ भन्ने धारणा हामीले राख्यौँ ।’

सरकारमा जाने दलले आफ्नो फाइदालाई मात्रै हेरेर निर्णय गर्दा अहिले देशलाई खतरा बनेको उहाँले बताउनुभयो । बुधबार भक्तपुरको कमलविनायक स्थित बिजुक्छे निवासमा भेटवार्ता भएको हो ।

प्रकाशित मिति: Dec 14, 2016

प्रतिक्रिया दिनुहोस्