एमआरपी तत्काल लागू नगराउन उद्योग मन्त्रीलाई ध्यानाकर्षणपत्र
काठमाडौँ । वस्तुमा एमआरपीसहितको लेबल लगाउनुपर्ने व्यवस्था अव्यवहारिक भएकोभन्दै तत्काल लागू नगराउन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उद्योग मन्त्री दामोदर भण्डारीलाई ध्यानाकर्षणपत्र बुझाएका छन् ।
महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठ सहितको टोलीले आइतबार मन्त्रालयमा मन्त्री भण्डारीसमक्ष उक्त ध्यानाकर्षण पत्र बुझाएको हो ।
राजनीतिक अस्थिरता, आर्थिक मन्दी र कोभिड महामारीजस्ता कारणले थलिएको व्यवसाय पछिल्लो समय प्राकृतिक विपत्तिको मर्का खेप्नु परिरहेकाबेला सरकारको एमआरपी लगाउने नीतिले थप मर्का पर्ने उनीहरूको तर्क छ ।
सरकारका अस्थिर नीतिले व्यवसायीलाई हतोत्साहित र पलायन गराएको भन्दै लगानीमैत्री र सहज व्यावसायिक वातावरण बनाउन आग्रहसमेत गरेका छन् ।
साथै एमआरपी लगाउनुभन्दा पहिला खुला सिमाना बन्द गरी चोरी पैठारी रोक्नु पर्ने सुझाव पनि छ । मन्त्री भण्डारीले व्यवसायीहरूलाई एमआरपी लगाउनु कानुनी प्रावधान रहेकाले सबैलाई अनिवार्य लगाउनुपर्ने बताएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
‘मन्त्रीज्यूले एमआअरपी अनिवार्य गर्नु कानुन विपरीत नभएकाले अनिवार्य लगाउनै पर्ने बताउनु भएको छ,’ मन्त्री भण्डारीका प्रेस संयोजक सिपि लोहियाले भने,‘तर व्यवसायीहरूलाई के कसरी कार्यान्वयन गराउँदा सहज हुन्छ । एमआरपीमा सहजीकरणका लागि सम्पूर्ण उद्योगी तथा व्यवसायीका सम्पूर्ण संघसंगठनसहित बसेर छलफल गरौँ भन्नु भएको छ । ’
महासङ्घका अध्यक्ष श्रेष्ठले एमआरपी समस्या समाधानको लागि तत्काल कार्यदल बनाएर समाधान गर्ने उद्योगमन्त्री भण्डारीले प्रतिबद्धता जनाएको बताए । उनले सरकारले व्यवसायीहरुलाई तत्काल जरिवाना र कारबाही भन्दा पनि सचेत गराउने काम गरिने बताएको उल्लेख गरे ।
उनले भने,‘ उद्योग मन्त्री एमआरपीमा व्यवसायीहरुको माग प्रति सकारात्मक हुनुहुन्छ । उहाँले तत्काल समस्या समाधानको लागि निजी क्षेत्रसँगको सहकार्यमा कार्यदल बनाएर कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल गरेर समाधान गर्ने बताउनु भयो । त्यसमा हामी सकारात्मक छाैँ ।’
त्यस्तै,महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले उद्योग मन्त्री एमआरपी सबै निजी क्षेत्रलाई सकारात्मक बनाएर कडाई गर्ने विषयमा सकारात्मक पाएको बताए ।
उनले व्यवसायीलाई कडाइ गर्ने भन्दा पनि तत्काल सचेत गराएर मात्रै कडाई गर्ने पक्षमा रहेको जानकारी दिएको बताए ।