कुलमानको पहिलो ‘राजनीतिक वार्मअप’ सकियो, ‘म्यान्डेट पाए नयाँ पार्टी खोल्छु’
काठमाडौँ । ‘उज्यालो नेपाल’ अभियान लिएर मध्यपूर्वी देशको भ्रमण सकेर नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आज नेपाल फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएपछि राजनीतिमा होमिने तयारी गरेका उनले प्रवासमा रहेका नेपालीको समर्थन बटुल्न मध्यपूर्वको यात्रा गरेका हुन् ।
यसअनुसार गत जुलाई २ देखि ४ सम्म बहराइन, जुलाई ५ देखि ८ सम्म युएई, जुलाई ९ देखि १० सम्म ओमन र कतारमा जुलाई ११ देखि १३ सम्म मध्यपूर्वका विभिन्न देशहरूमा रहेका नेपाली श्रमिकहरूसँग साक्षात्कार गरी आइतबार राती कतारबाट नेपाल फर्किएका हुन् । उनलाई गैरआवासीय नेपाली संघका अध्यक्ष रमेश भट्टले हमाद इन्टरनेशनल एयरपोर्टबाट बिदाइ गरेका छन् ।
घिसिङको स्वागत र सत्कारमा मध्यपूर्वका नेपाली दूतावासदेखि त्यहाँ रहेका स्थापित सङ्घ सङ्गठनहरूले भेट गरेका थिए । उनीहरूले आफूहरूको समस्याबारे गुनासो समेत गरेका थिए । कतारमा घिसिङले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतार र नेपाल आदिवासी जनजाति महासघंको संयुक्त आयोजनामा आयोजित ‘उज्यालो संवाद कार्यक्रम २०२५’ लाई सम्बोधन गरे ।
उनले विदेशमा काम गरेर विप्रेषणले मुलुकको अर्थतन्त्र धानिरहेको अवस्थामा सरकारले विदेशमा बस्ने नेपालीलाई अपमानित गर्ने गर्ने गरेको आरोप समेत लगाए । उनले जनताले म्यान्डेट दिए आफू नयाँ राजनीति पार्टी खोल्ने र नभए पनि मूलधारको राजनीतिमा समेत प्रवेश गर्ने बताए । ‘तपाईंहरू जे गर भन्नुहुन्छ, म त्यो गर्न तयार छु ।’ देशको बदलिँदो राजनीति परिवेशले आफूलाई सिकार बनाएको उनको दाबी थियो ।