केही अराजक तत्त्वले स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरिरहेका छन्: प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले केही मान्छेलाई स्पेन छोडेर आएको भनेर केही मान्छेले घटिया प्रचार गरिरहेको बताएका छन् ।
आइतबार झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले मान्छे छोड्यो भनेर घटिया प्रचार गरिरहेको बताएका हुन् ।
‘केही विरोधी र अराजक तत्त्वले प्रधानमन्त्री ओलीले स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेका छन् । यस्ता कुराहरूको जवाफ दिन आवश्यक छैन,’ उनले भने । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताए ।
प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे । उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा नि:शुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसईईमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।
विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमुना आयोजना मानिन्छ ।