इजरायलद्धारा खेलाडी तथा खेल पदाधिकारीको हत्या गरेको रिपोर्ट सार्वजनिक
इजरायली सेनाले अक्टुबर, २०२३ यता गाजा र इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा करिब ७८५ जना प्योलेस्टाइनी खेलाडी तथा खेल पदाधिकारीको हत्या गरेको रिपोर्ट सार्वजनिक भएको छ । प्यालेस्टाइनी फुटबल एसोसिएसनलाई उद्धृत गर्दै अनादोलुले इजरायलले ठूलो संख्यामा खेलाडी तथा खेल पदाधिकारीको हत्या गरेको रिपोर्ट सार्वजनिक गरेको छ ।
एसोसिएसनकी उपप्रमुख सुजैन शालाबीले मारिनेमध्ये अधिकांश गाजामा र २३ जना कब्जा गरेको पश्चिमी तटमा मारिएको जनाएकी छन् । मारिनेमध्ये ४३७ जना फुटबल खेलाडी थिए, जसमध्ये १५ जना पश्चिमी तटका थिए भने बाँकी सबै खेलाडी गाजाका थिए । उनले मारिएका खेलाडीको संख्या योभन्दा बढी हुन सक्ने र तथ्यांक संकलनको काम भइरहेको जनाएकी छन् ।
केही क्षतिग्रस्त स्थानमा पहुँच नभएका कारण भग्नावशेषमुनि पुरिएका मानिसबारे कुनै जानकारी नरहेको समेत उनले बताएकी छन् ।इजरायलले जानीजानी निसाना बनाउने गरेको भन्दै यसलाई रोक्न र गाजा तथा पश्चिम तटमा खेलाडीको सुरक्षा गर्न मागसमेत गरेकी छन् ।