भन्सार विधेयक छिटो पारित गर्न शनिबार पनि बैठक बस्ने
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले ‘भन्सार विधेयक’ माथिको छलफललाई तिव्रता दिएको छ । बुधबार बसेको समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिबाट पास भई प्रतिनिधिसभाले समेत पारित गरी उक्त विकेयक पठाएको थियो । समयको चापलाई मध्यनजर गर्दै समितिले शनिबार पनि बैठक बसेर दफावार छलफललाई टुङ्ग्याउने कार्ययोजना बनाएको समिति सभापति तुलसाकुमारी दहालले बताइन् ।
उनले विधेयकको आकार ठुलो र संशोधनकर्ता धेरै भएको तर समय अभाव रहेकाले छलफललाई व्यवस्थित र परिणाममुखी बनाउन विशेष कार्यविधि तय गर्न लागिएको बताइन् । उनले २१ जना सांसदले विधेयकका १३३ वटा दफामा संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
सभापतिका अनुसार छलफललाई प्रभावकारी बनाउन समितिमा बनेको उपसमितिले एउटै प्रकृतिको संशोधन हाल्ने समूहबाट एक जनाले मात्र बोल्ने, आवश्यकताअनुसार शनिबार पनि बैठक बस्ने, छलफल भइसकेको विषयमा पुनः पछाडि नफर्किने, समय अभावका कारण सरोकारवालालाई बोलाउनुको साटो लिखित सुझाव माग गर्ने र प्रस्तावित संशोधनका दफाहरूमा बढी केन्द्रित रहेर छलफल गर्ने सहमति भएको छ । उनका अनुसार उक्त विधेयकमा आज नै सैद्धान्तिक छलफललाई सकेर दफाबार छलफल समेत सुरु भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयकले भन्सार प्रशासनको आधारभूत संरचना र प्रक्रियालाई व्यवस्थित गर्ने बताए । उनले भने, ‘भन्सार प्रक्रियालाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाई अन्तर्राष्ट्रिय व्यापारलाई सहज र सुरक्षित बनाउन, भन्सार महसुल सङ्कलनमा दक्षता तथा प्रभावकारिता अभिवृद्धि गरी देशको आर्थिक विकासमा टेवा पुर्याउन यो विधेयक ल्याइएको हो।’
प्रतिनिधि सभाबाट पारित भएर आएको यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि कानुन बन्नेछ। विधेयकले भन्सार प्रक्रियालाई आधुनिक, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल बनाउने लक्ष्य राखेको छ ।