भिजिट भिसा प्रकरणको छानबिन नभए प्रतिवेदन मान्दैनौं : माओवादी
१० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समितिले निष्पक्ष र तथ्यपरक छानबिन नगरे त्यसको प्रतिवेदन अस्वीकार गर्ने बताएको छ ।
प्रतिनिधिसभाकौ मंगलबारको बैठकमा माओवादी उपमहासचिव एवं सांसद् वर्षमान पुन अनन्तले यस्तो बताएका हुन् । भिजिट भिसा प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा नल्याएसम्म निगरानी र खबरदारी जारी रहने उनको भनाइ छ ।
सत्तारुढ दल र प्रतिपक्षबीच गत ३० जेठमा भएको दुई बुँदे सहमतिअनुसार सरकारले उच्चस्तरीय छानबिन तथा अध्ययन समित गठन गरेको भन्दै उनले धन्यवाद दिए । पुनले समितिले दक्षतापूर्वक प्रभावकारी छानबिन गर्नुपर्नेमा जोड दिए ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरण छानबिनका लागि ‘उच्चस्तीय अध्ययन तथा छानबिन समिति’ गठन गर्ने निर्णय गरेको थियो ।
सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखकले समिति गठनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयबारे सदनलाई जानकारी गराएपछि पुनले दलका तर्फबाट धारणा व्यक्त गरेका हुन् ।