मौसम परिवर्तनसँगै मानिसमा बढ्दै कोरोना संक्रमित
मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लुजस्ता संक्रमण देखिन थालेको हो ।
इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा. चन्द्रभाल झाले सीमा नाकामा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिले त्यो पनि घटेको गएको बताए । उनका अनुसार नेपाल–भारत सीमाको सिमाना पर्ने कञ्चनपुरमा केही भारतबाट आउनेमा संक्रमण देखिएका छन् ।
उनका अनुसार अहिलेसम्म (१७ पुसयता) १६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० जना र २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण देखिएको उनले बताए । सबैभन्दा बढी बागमती प्रदेशमा १२९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा पाँच, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा समान तीन-तीन जनामा संक्रमण देखिएको छ ।
एन्टिजेन पठाइयो
निर्देशक डा. झाले कोरोना भाइरसको संक्रमण देखिएका ठाउँमा एन्टिजेन पाइसकेको समेत जानकारी दिए । उनका अनुसार सीमा नाकामा परीक्षणका लागि अहिलेसम्म ६४० थान एन्टिजेन पाइसकेको छ । उनले संक्रमणको जोखिमलाई ध्यान दिँदै थप एन्टिजेन खरिद गर्ने प्रक्रियासमेत अगाडि बढाइएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा. युवानिधि बसौलाले फाट्टफुट बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको बताउँछन् । ‘मौसममा आएको परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन्,’ उनले भने ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा संक्रमण देखिएका कारणले नेपालमा पनि देखिएको बताए । ‘भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्,’ उनले भने, ‘मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।’
मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिम रहेको बताए ।