नक्कली महानगरलाई सक्कली महानगर यातायातको चेतावनीः नाम र डिजाइन तत्काल हटाउनू!
महानगर यातायातका अध्यक्ष सन्तोष खतिवडाले नक्कली महानगर यातायातका कारण कम्पनी तथा यात्रुहरूले समस्या झेल्नुपरेको बताएका छन्।
नाम, रङ्ग र डिजाइनसमेत नक्कलगरी एउटै रुटमा सञ्चालन गरिएको विषयमा पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदासमेत कुनै कारबाही नभएको अध्यक्ष खतिवडाले बताएका हुन्।
उनले विद्यामान नियम, कानुनको धज्जी उडाउँदै महानगर यातायात सञ्चालनको शुरुवाती दिनदेखि नै नक्कली महानगर यातायात सोही रुटमा सञ्चालन हुनु र नियमनकारी निकायले ध्यान नदिने दुःखको विषय भएको स्पष्ट पारे। सडक दुर्घटना, सामान छुट्ने लगायतका घटनामा पीडित यात्रुले न्याय पाउन नसकिरहेको अवस्थासँगै महानगर यातायातले पनि अनावश्यक झण्झट व्यहोर्नु परेको उनले दाबी गरे।
अध्यक्ष खतिवडाले लाखौं यात्रुको सेवा र सुरक्षासँग जोडिएको विषय भएकाले अब उपरान्त महानगरको नाम र डिजाइन सवारी साधनबाट नहटाएमा क्षतिपूर्तिको मागसहित कानूनी कारबाही गर्नसमेत पछि नपर्ने चेतावनी दिए।
उनले राजधानीमा सार्वजनिक यातायातको व्यवस्थित अभ्यास गरिरहेको महानगर यातायातले निकट भविष्यमै आइपीओ जारी गर्ने तयारी गरिरहेको जानकारी दिए।