Logo
१२ असार २०८२, बिहीबार
(June 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनचाँदी व्यवसायीले बुझाए प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । सुनचाँदी व्यवसायसँग सम्बन्धित सङ्घ–संस्थाका प्रतिनिधिले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा सुनचाँदी कारोबारमा दुई प्रतिशत विलासिता कर लगाउने व्यवस्थाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्रीसँग मंगलबार भेट गर्दै उनीहरुले यसबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनार, नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष अर्जुन रसाइली र नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष सुमनमान ताम्राकारसहितको टोली सहभागी थियो ।

त्यसअवसरमा उनीहरुले करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने भएकाले पुनः विचार गर्न माग गरेका छन् । व्यवसायीहरूले कर र भन्सारका दर छिमेकी भारतको भन्दा बढी हुँदा नेपाली व्यवसायले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले उक्त व्यवस्था कायम रहे आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले संवादबाट समस्याको समाधान खोज्न आफूले सम्बन्धित मन्त्रालयसँग बुझ्ने र मिल्नेसम्मका माग पूरा गर्न लागिपर्ने विश्वास दिलाउँदै आन्दोलनको बाटोमा नलाग्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: Jun 17, 2025

प्रतिक्रिया दिनुहोस्