Logo
१० असार २०८२, मंगलबार
(June 17, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अविरल वर्षा हुन थालेसँगै ‘मेलम्चीको खानेपानी’ पनि बन्द

 पछिल्लो समय अविरल वर्षा हुन थालेसँगै ‘मेलम्चीको खानेपानी’ पनि बन्द गरिएको छ। मेलम्चीमा बाढी आएर पानी धमिलिन थालेपछि आज(मंगलबार)बिहानैदेखि मेलम्चीको पानी बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछाने जानकारी दिए।

समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार हिजो पनि पानी धमिलिएपछि करिब दुई घण्टा मेलम्चीको पानी बन्द गरिएको थियो। उनले  भने,‘हिजाे पानी सङ्लिएपछि सुरुङमा पठाएका थियो,आज पनि पानी धमिलिएपछि बिहानदेखि नै बन्द गरेका छौँ।’

उनका अनुसार केही दिनयता दैनिक ठूलो पानी पर्न थालेको छ। जसकारण मेलम्चीको पानी काठमाडौं उपत्यकामा पठाउन सकिने सम्भावना न्यून बन्दै गएको  छ। पानी सङ्लिएको खण्डमा मात्रै पानी पठाउन सकिन्छ। ‘बाढी पनि आउन थालेको छ,आयोजनामा क्षति नहोस् भनेर पनि अब बन्द गर्नुपर्ने नै अवस्था आयो,’उनले भने।

मेलम्चीको पानी बन्द भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेएल) शाखाहरूले सूचना जारी गर्दै उपभाेक्ताहरूलाई खानेपानी वितरण अवरुद्ध भएको जानकारी दिएका छन्।

केयुकेएल बानेश्वर शाखाले बिहानै सूचना जारी गर्दै भनेको छ,‘आज मेलम्ची खोलामा बाढीसहित धमिलो पानी आएको कारणले गर्दा अर्को सूचना जारी नभएसम्मलाई यस शाखाबाट वितरण हुने सम्पूर्ण डिएमएहरूको पानी वितरण अबद्ध हुने जानकारी गराउन चाहान्छौँ।’

सन् २००१ मा सुरू भएको मेलम्ची खानेपानी आयोजना दुई दशकपछि अर्थात् पहिलोपटक २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको थियो।

तर,२०७८ साल असार र साउनमा मेलम्ची र इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पुर्‍याएपछि हालसम्म १२ महिना पानी आउन सकेको छैन। ०७८ को बाढीयता कहिले वर्षात त कहिले मर्मतको नाममा पानी बन्द गरिँदै पठाइँदै गरिएको छ। अरू बेला नियमित मेलम्चीको पानी आए पनि वर्षेनी वर्षातको बेला मेलम्ची खानेपानी बन्द गर्नुपर्ने बाध्यता छ। त्यसो हुँदा हालसम्म पनि उपत्यकाबासीहरूले दीर्घकालीन रूपले पानीको उपभोग गर्न पाएका छैनन्।

रिबर्मा खोलाको पानी ल्याइने

मेलम्ची खोलाको पानी बन्द भएपनि त्यही छेउमा रहेको रिबर्मा खोलाको पानी भने वर्षातको समयमा पनि नियमित काठमाडौं उपत्यकामा आउने भएको छ। यो सरकारले विकल्पको रूपमा लिएको खानेपानी स्रोत हो।

समितिका कार्यकारी निर्देशक लामिछानेका अनुसार उक्त खोलाको पानी थिङग्रयाएर सोही मेलम्ची खानेपानीकै टनेलमा हालिएको छ। तर,वर्षातमा कम मात्रामा पानी उपत्यकामा आउने छ।

‘हाल मेलम्चीबाट पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा आएको थियो,तर,वर्षातमा मेलम्चीको पानी नआउने भएपनि रिबर्मा खोलाको चाही दैनिक ५/७ करोड लिटर पानी उपत्यकामा आउँछ,’उनले भने,‘म आएपछि आवश्यक संरचना बनाउन पहल गरे,काम सकेर पनि टनेलमा पानी हालिसक्यौँ,त्यहीभएर वर्षातमा कम मात्रामा भएपनि सोही टनेलबाटै उपत्यकामा पानी चाही आउँछ।’

उनका अनुसार उक्त खोलामा उपलब्ध पानी सुरूङमार्फत काठमाडौंमा पथान्तरणको सफल परीक्षण गरिसकिएको छ। खानेपानीमन्त्री प्रदीप यादवले हिजो सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयांकीको स्थलगत अनुगमन गरेका थिए।

अनुगमनपश्चात् वर्षातको समयमा पनि काठमाडौंवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए। उनले भने,‘काठमाडौंमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी ट्यांको सफल परीक्षण भएको छ, वर्षायाम सुरू भएसँगै उत्पन्न हुने जोखिमलाई मध्यनजर गर्दै वैकल्पिक उपायस्वरूप रिबर्मा खोलाको पानी मेलम्चीको सुरूङमार्ग हुँदै काठमाडौंमा आपूर्ति गर्ने व्यवस्था गरेका छौँ।’

मेलम्चीको पानी बन्द भएसँगै अब उपत्यकामा खानेपानीको समस्या हुने भएको छ। रिबर्मा खोलाको पानी आए पनि उपत्यकामा पर्याप्त मात्रामा पुग्दैन। केयुकेएलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानी माग छ। तर,यी मागअनुसार खानेपानी पूर्ति हुन सकिरहेको छैन। मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३–१४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुन्छ।

मेलम्ची पानीमा सकियो ३१ अर्ब, बनेन् हेडवर्क्स

राष्ट्रिय गौरवको आयोजना ‘मेलम्ची खानेपानी’मा हालसम्म ३१ अर्ब ९१ करोडभन्दा बढी रकम सकिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा आयोजनाको पहिलो र दोस्रो चरण (याङ्ग्री र लार्के)को कार्यको लागि गत वर्ष (२०८१)मा ५७ करोड ९० लाख समेत यो वर्षसम्म ३१ अर्ब ९१ करोड ४९ लाख खर्च भएको उल्लेख छ।

तर,सरकारले मेलम्ची खानेपानी व्यवस्थित गर्न नसक्दा आयोजना सुरू भएको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि उपत्यकाबासीहरूले नियमित उपभोग गर्न पाएका छैनन्।

सरकारले हेडवर्क्स सारेर दीर्घकालीन व्यवस्थापन गर्न सकेको छैन। ०७८ मा मेलम्चीमा आएको बाढीपछि खानेपानी आयोजनाको दातृनिकाय एशियाली विकास बैंक (एडीबी)ले अध्ययन गरी दीर्घकालीन व्यवस्थापनका लागि सरकारलाई मेलम्ची खानेपानीको हेडवर्क्स सार्न सुझाव दिएको थियो।

एडीबीले बनोट तथा बाढी पहिरोको जोखिमका कारण हेडवर्क्स सार्न सुझाव दिएको हो। एडीबीले गरेको अध्ययन प्रतिवेदनका आधारमा आयोजनाको हेडवर्क्स अहिले भएको स्थानभन्दा करिब १ किलोमिटर माथि सार्न सुझाव दिएको छ।

यही आयोजनाको हेडवर्क्स सार्नका लागि एडीबीले २ अर्ब अनुदान पनि दिएको छ तर समितिका अनुसार हालसम्म सरकारले हेडवर्क्स सार्न खासै काम थाल्नै सकेको छैन।

प्रकाशित मिति: Jun 17, 2025

प्रतिक्रिया दिनुहोस्