न्यायाधीशलाई मोसो छ्याप्नेलाई रिहाइ माग्दै प्रदर्शन गर्ने ७ जना पक्राउ
३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद अफताम आलमलाई रिहा गर्ने न्यायाधीश माथि मोसो दल्नेलाई रिहाइको माग गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा बहुमतका कार्यकर्ताले माइतीघरमा शुक्रबार दिउँसो प्रदर्शन गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार प्रदर्शन गर्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेकपा बहुमतका सर्जन पाण्डे, हरि विष्ट, उषाकिरण कामी, सक्षम विक, झलक विक, र सर्जन कामीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरू सबै नेकपा बहुमतको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध छन् ।
आलम रिहा गर्ने फैसला उच्च अदालतका न्यायाधीसद्धय डा. खुसीराम थारु र अर्जुन महर्जनले गरेका थिए ।
न्यायाधीश थारुमाथि नेकपा बहुमतका कार्यकर्ताले बिहीबार मोसो छ्यापेका थिए ।
मोसो प्रहार गरेको आरोपमा प्रहरीले प्यूठानको गौमुखी गाउँपालिका–६ घर भइ हाल ललितपुरको कुपन्डोल बस्दै आएका ३८ वर्षीय अविनाश भन्ने किशोर कुँवर, सर्लाहीको बरहथवा नगरपालिका–२ का ४३ वर्षीय पदम बहादुर मगर र सिराहाको गोलबजार नगरपालिकाका ४८ वर्षीय गर्भु महतोलाई पक्राउ गरेको थियो ।