Logo
१२ असार २०८२, बिहीबार
(June 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इजरायलमा नेपालीहरूलाई विशेष सतर्कता अपनाउन दूतावासको अपिल

इजरायलले इरानमाथि आक्रमण गरेसँगै सुरक्षा अवस्थालाई लिएर चिन्ताजनक परिस्थिति सिर्जना भइरहेका बेला इजरायलस्थित नेपाली दूतावासले त्यहाँ बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।

१३ जूनमा जारी गरिएको दूतावासको सूचनामा भनिएको छ, ‘यस क्षेत्रमा पछिल्लो समय विकसित परिस्थितिलाई मध्यनजर गर्दै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अध्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन, उक्त प्रोटोकलहरू पालना गर्न र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन अनुरोध गर्दछौं ।’

दूतावासले इजरायलको आधिकारिक आपतकालीन सूचना वेबसाइटमा गएर नियमित रूपमा सूचना हेर्न र त्यहाँ दिइएका निर्देशनअनुसार चल्न सुझाव दिएको छ । साथै, सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थानको नजिकै रहन समेत विशेष आग्रह गरिएको छ ।

इजरायली सेना र सुरक्षा निकायले आक्रमणपछिको प्रतिक्रिया तथा सम्भावित जोखिमको पूर्वानुमान गर्दै सर्वसाधारणका लागि सुरक्षा निर्देशिका कडाइका साथ लागू गरिरहेका छन् । यो स्थितिमा अन्य विदेशी नागरिकसरह इजरायलमा कार्यरत, अध्ययनरत वा स्थायी रूपमा बसोबास गरिरहेका नेपालीहरूको पनि दैनिक जीवन प्रभावित हुन सक्ने भएकाले विशेष सजगता आवश्यक देखिएको दूतावासले जनाएको छ ।

तेल अभिव, हाइफा, अशदोद, जेरुसलमलगायतका प्रमुख शहरहरूमा सतर्कता उच्च बनाइएको छ भने लामो दूरीको क्षेप्यास्त्र आक्रमणको सम्भावनालाई ध्यानमा राख्दै बंकर र सुरक्षित आश्रयस्थलको उपयोगको लागि स्थानीय प्रशासनले तयारी तीव्र पारेको छ ।

इजरायलमा करिब ५ देखि १० हजार नेपाली नागरिक रहेको अनुमान छ । तीमध्ये अधिकांश स्वास्थ्य, होम केयर, कृषि तथा होटल क्षेत्रमा कार्यरत छन् । युद्ध र आपतकालीन अवस्थाको असर उनीहरूको मानसिक र भौतिक सुरक्षामा पर्ने भएकाले नेपाल सरकार र दूतावासले आवश्यक समन्वय गरिरहेको जनाएको छ ।

दूतावासले आपतकालीन अवस्थाको विकासक्रममा थप निर्देशन वा सहायता आवश्यक परेमा तुरुन्तै सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको समेत जानकारी दिएको छ। त्यहाँस्थित नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, भीडभाडमा नजान र सरकारी निर्देशनको पूर्ण पालना गर्न पुनः आग्रह गरिएको छ ।

तनावको प्रभाव कति समयसम्म रहनेछ भन्ने यकिन नभए पनि तत्कालका लागि नेपाली नागरिकहरूले आफ्नो सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने दूतावासको भनाइ छ ।

प्रकाशित मिति: Jun 13, 2025

प्रतिक्रिया दिनुहोस्