Logo
१२ असार २०८२, बिहीबार
(June 13, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रुपन्देहीमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया श्रीमतीलाई रडले हानेर हत्या

रुपन्देही । नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय बयोवृद्धले ७६ वर्षीया वृद्धा श्रीमतीलाई रडले हानेर हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालका अनुसार दिलबहादुर थापाले गएराति पत्नी जमुना थापाको टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् । जमुना दिलबहादुरकी कान्छी पत्नी हुन् ।

दिलबहादुरले श्रीमती विभिन्न रोगले थला परेको र आफ्नो मृत्युपछि दुःख नपाओस् भनेर हत्या गरेको प्रहरीलाई बयान दिएका थिए ।

‘घरमा बुढाबुढी मात्रै रहेछन् । आँखा पनि राम्रोसँग नदेख्ने दिलबहादुरले केही समयदेखि पत्नी बिरामी भएको र आफू मरेपछि बुढीले दुःख नपाउन् भनेर हत्या गरेको बताएका छन्,’ डीएसपी नेपालले भने ।

छोरा चित्रबहादुर थापाले घटनाबारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

अभियुक्त वृद्ध तथा अशक्त भएकाले कारबाहीबारे केहीको चासो छ । वरिष्ठ अधिवक्ता शालिकराम बनजाडेले ज्यान मारेको कसुरमा कसैलाई कारबाही नहुने भन्ने नभएको, तर वृद्धवृद्धाको हकमा ६० प्रतिशत छुट हुनसक्छ ।

‘कानूनी कारबाही त फैसलाअनुसार अघि बढ्ने हो । उनी वृद्ध/बिरामी भएपनि त्यसपछिको अवस्था कसरी राख्ने भन्ने कारागार प्रशासनको हो’, उनले भने ।

प्रकाशित मिति: Jun 13, 2025

प्रतिक्रिया दिनुहोस्