न्यायाधीशमाथिको दुर्व्यवहार निजामती ट्रेड युनियनले गरे भर्त्सना, हदैसम्मको कारबाही माग
काठमाडौं । उच्च अदालत वीरगञ्जका न्यायाधीशमाथि भएको दुर्व्यवहारलाई लिएर निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूले आपत्ति जनाएका छन् ।
हिजो उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका न्यायाधीश डा. खुशीप्रसाद थारूमाथि नेकपा बहुमतका कार्यकर्ताले मोसो छ्यापेर दुर्व्यवहार गरेका थिए ।
नेपाल निजामती कर्मचारी संगठन र युनियन विभागीय समितिले संयुक्त विज्ञप्ति निकालेर घटनामा संलग्नलाई कानूनको दायरामा ल्याई हदैसम्मको कारबाहीको माग गरेका छन् ।
‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानूनी हक हुने व्यवस्था हुँदाहुँदै गैर कानूनी चरित्र एवम् कालोमोसो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो’, विज्ञप्तिमा भनिएको छ ।
श्रीप्रसाद पौडेल र जोदासिंह कठायतको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा यस्ता क्रियाकलाप नदोहोरिन खबरदारीसहित भयरहितरूपमा न्याय सम्पादनको वातावरणका लागि आग्रह गरेका छन् ।