महानगरपालिकाका मेयर बालेन साहलाई सोधपुछ गर्न अख्तियारले बोलायो
महानगरपालिकाका मेयर बालेन साहलाई सोधपुछ गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ।
फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा सहभागी भएको विषयमा सोधपुछ गर्न अख्तियारले बालेनलाई बोलाएको हो।
गत वर्ष जेठमा फ्रान्स भ्रमणमा जाँदा उनको सचिवालयका सदस्यहरुलाई पनि कर्मचारीको रूपमा सहभागी गराएको विषयमा अख्तियारले जानकारी दिन भनेको छ।
कान्स फिल्म फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुन मेयर साह गत वर्ष फ्रान्स गएका थिए। त्यतिबेला मेयर साहले फिल्म फेस्टिभल निर्देशकसँग भेटवार्ता गरेका थिए।
फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुखका रूपमा साह सहभागी भएका थिए। मेयर साहले अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको पनि अवलोकन गरेका थिए।
साहको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना गरेको थियो। गत २०८१ जेठ १ गते फ्रान्स गएका साह ७ जेठमा नेपाल फर्किएका थिए।
त्यहाँ जाँदा उनले सुनील लम्साल र कुमार व्यञ्जनकारलाई कर्मचारीको रुपमा सहभागी गराएको विषयमा अख्तियारमा उजुरी परेपछि सो विषयमा जानकारी दिन आग्रह गरेको हो।