अस्ट्रियाको ग्रात्ज शहरको विद्यालयमा गोलीकाण्डमा कम्तीमा ८ जनाको मृत्यु
२७ वैशाख, काठमाडौं । अस्ट्रियाको ग्रात्ज शहरस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा ८ जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
अस्ट्रियाली सार्वजनिक प्रसारक ओआरएफले गृह मन्त्रालयलाई उद्धृत गर्दै उक्त गोलीकाण्डमा धेरै व्यक्तिको मृत्यु भएको उल्लेख गरेको थियो ।
ग्राजका मेयर एल्के काहरले अस्ट्रिया प्रेस एजेन्सीलाई दिएको जानकारी अनुसार ८ मृतकमध्ये एक बन्दुकधारी पनि हुन् । मृत्यु हुनेमा केही विद्यार्थीहरूसँगै कम्तीमा एक प्रौढ पनि रहेका छन् ।
मंगलबार ग्राज शहरको एक विद्यालयमा गोली चलाउने बन्दुकधारीले पछि विद्यालयको शौचालयमा आत्महत्या गरेको अनुमान गरिएको छ ।
मंगलबारको आक्रमण बिहान करिब १० बजेतिर शहरको उत्तरतर्फ रहेको एक उच्च माध्यमिक विद्यालयको भवनमा भएको हो ।
अस्ट्रियाली प्रहरीले गोलीकाण्ड ग्रात्ज शहरको एक संघीय उच्च माध्यमिक विद्यालयमा भएको पुष्टि गरेको छ । उक्त विद्यालय रेल स्टेशन नजिकै रहेको प्रहरीले विवरणहरूमा उल्लेख गरेको छ ।
ग्राज अस्ट्रियाको दोस्रो ठूलो शहर हो । एक दशकअघि यो शहरमा एक व्यक्तिले भीडमा गाडी चलाएर तीन जनालाई मारेका थिए भने करिब तीन दर्जन घाइते भएका थिए । त्यसपछि उनले छुरी प्रयोग गरेर बाटोमा हिंडिरहेका मानिसहरूलाई आक्रमण गरेका थिए ।
प्रहरीका अनुसार ती आक्रमणकारी घरेलु हिंसाको इतिहास बोकेका व्यक्ति थिए । आक्रमण गर्नुभन्दा केही समयअघि मात्र उनकी श्रीमतीले उनलाई छाडेकी थिइन्।