Logo
१३ असार २०८२, शुक्रबार
(June 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘हाई अल्टिच्युड माउन्टेन वारफायर’ तालिमबाट २४ राष्ट्रका ३३८ जना दीक्षित

मुस्ताङ। मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित कैसाङमा रहेको सैनिक उच्चशिखर शिक्षालयमार्फत हालसम्म ‘हाई अल्टिच्युड तथा माउन्टेन वारफायर’ सम्बन्धी तालिम लिएका नेपालसहित २४ राष्ट्रका ३३८ सैनिक शिक्षार्थी दीक्षित भएका छन्।

मुस्ताङमा बर्सेनि हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी आधारभूत तथा एडभान्स तालिम सञ्चालन हुने गरेको सैनिक जनसम्पर्क निर्देशानालय काठमाडौँले जनाएको छ।

मुस्ताङमा हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम सञ्चालनका लागि नेपाली सेनाको जङ्गी अड्डाले २०३२ सालमा सैनिक उच्च शिखर शिक्षालय स्थापना गरेको थियो।

स्थापनाको ५०औँ वर्ष पूरा गरिसक्दा नेपालसहित विभिन्न राष्ट्रका करिब सात हजार जनाले आधारभूत तालिम प्राप्त गरिसकेको र दुई हजार ५०० जनाले हाई अल्टिच्युड तथा माउन्टेन वारफायरसम्बन्धी एडभान्स तालिम प्राप्त गरिसकेको सैनिक जनसम्पर्क निर्देशनालयका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए।

नेपाली सेनाअन्तर्गत सैनिक उच्चशिखर शिक्षालय मुस्ताङबाट एडभान्स तालिम प्राप्त गरेका शिक्षार्थीमध्ये ५१ जनाले आठ हजार मिटरभन्दा माथिको हिमाल आरोहरण गरिसकेका छन्। प्रवक्ता बस्नेतका अनुसार मुस्ताङबाट हाई अल्टिच्युड तथा माउन्टेन वारफायर तालिम कोर्स पूरा गरेका शिक्षार्थीमध्ये हालसम्म २९ जनाले सगरमाथा हिमालको आरोहण गरिसकेका छन्। मुस्ताङमा एडभान्स तालिम कोर्सबाट दीक्षित शिक्षार्थीलाई हिमाल आरोहणका लागि उत्पादन गर्ने गरिएको छ।

प्रकाशित मिति: Jun 9, 2025

प्रतिक्रिया दिनुहोस्