Logo
१३ असार २०८२, शुक्रबार
(June 9, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिजिट भिसा प्रकरणमा : विपक्षी दलहरुको अडान यथावत्

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको मागमा विपक्षी दलले अडान यथावत् राखेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विपक्षी दलको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म सदन खोल्न नसक्ने निष्कर्ष निकालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अध्यक्ष प्रचण्डसँग भएको सहमतिअनुसार छानबिन समिति बनाएर आफूहरू सदन खोल्न तयार रहेको माओवादीका सांसद राजन दाहालले बताए । कांग्रेस लचक भएपनि प्रधानमन्त्री केपी ओलीको अनिच्छाको कारण सदनको गतिरोध लम्बिइरहेको उनको जिकिर छ ।

सांसद दाहालले भने, ‘बूढानीलकण्ठमा अध्यक्षसँगको भएको भेटमा देउवाजीले अख्तियारको छानबिन छिटो टुङ्ग्याउने र यो विषयमा थप अनुसन्धानका लागि मानव बेचबिखन र सङ्गठित अपराधको विषयमा सदनबाट छानबिन समिति बनाउने कुरामा सहमति भएको थियो । तर, अहिले उहाँहरू न गृहमन्त्रीको राजीनामा दिनुहुन्छ, न त त्यो सहमति कार्यान्वयनको पक्षमा नै देखिनुहुन्छ ।’

उनले कांग्रेसले अहिले गृहमन्त्रीमाथि छानबिन नगरी अध्यागमनमा अबका दिनमा नीतिगत सुधारको लागि छानबिन समिति वा संयन्त्र बनाउनुपर्ने मात्रैको प्रस्ताव ल्याएपछि कुरा नमिलेको बताए ।

दाहालले थपे, ‘प्रधानमन्त्रीले सदन खोल्न चासो नदिएपछि कांग्रेसले अग्रसरता लिएको छ, अहिले रास्वपासँग पनि बेग्लै वार्तामा छ । तर, आज सहमति जुट्ने सम्भावना कम नै देखिन्छ ।’

निरन्तर स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि दिउँसो २ बजेको लागि बोलाइएको छ ।

प्रकाशित मिति: Jun 9, 2025

प्रतिक्रिया दिनुहोस्