विपक्षीले कांग्रेससँगको सहकार्यमा फाटो ल्याउने प्रयास गरेको प्रधानमन्त्री ओलीको दाबी
काठमाडौं, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–एमाले सहकार्य सहमतिबमोजिम नै अघि बढिरहेको र कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले दुई दलबीचको सहकार्य ०८४ सालसम्म नै कायम रहने र अहिले सहकार्यमा कुनै मतान्तर नरहेको जिकिर गरे । नेपाली कांग्रेससँगको सहमतिबमोजिम अबको १३ महिनापछि कांग्रेसलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेपनि उनले स्मरण गराए ।
प्रधानमन्त्री ओलीले विपक्षीहरुले कांग्रेस र एमालेको सहकार्यमा ल्याउन खोजेको फाटो सफल नहुनेपनि ठोकुवा गरे । उनले भने,‘हाम्रा विरोधीहरूले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन् । हामीले हाम्रो लक्ष्य मिसन २०८४ अन्तर्गत आगामी निर्वाचनमा बहुमत ल्याउँछौं भनेका छौँ । आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने गरी काम गर्नुपर्छ । यसमा कुनै अन्योलमा रहनुपर्ने अवस्था छैन ।’
कांग्रेसले पनि ०८४ मा एकल बहुमत ल्याउने दाबी गरेको प्रसंगमा भने उनले कांग्रेसले त्यो भन्न पाउने र आफूहरु प्रतिष्पर्धी भएको पनि सुनाए । सदनको अवरोध खुलाउनको लागि हिजोमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । यही सन्दर्भमा प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्ति आएको हो ।