ऐतिहासिक सुन्धारा र धरहराको संरक्षण गर्न स्थानीयवासीले गरे सरकारसँग आग्रह
२३ जेठ, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ऐतिहासिक सुन्धारामा प्राकृतिक रुपले पानी आउने र निकास हुने तथा पुरानो धरहराको अवशेषलाई उचित संरक्षणको योजना तर्जुमाका लागि स्थानीयवासीले आग्रह गरेका छन् ।
काठमाडौँको महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा गरेको भेटमा ऐतिहासिक सुन्धारा तथा धरहरा क्षेत्रमा खुला बगैँचा, मुद्रा तथा भूकम्प सङ्ग्रहालय र देशकै सबैभन्दा ठूलो भूमिगत सुविधायुक्त पार्किङसहित नयाँ धरहरा निर्माण गर्न विशेष पहल गर्नुभएकामा स्थानीय बासिन्दाकोतर्फबाट धन्यवाद पनि दिएको थियो ।
सुन्धाराको सिरानमा रहेको जग्गामा कर्मचारी सञ्चय कोषले विसं २०४४ मा दुईतले भूमिगत पार्किङसहित कार्यालय भवन बनाउन जग खन्दा त्यहाँ प्राकृतिक रुपले २४सै घण्टा अनवरत पानी प्रवाह हुने भूमिगत संरचनामा ठूलो क्षति भएपछि स्थानीयवासीको विरोधका कारण तत्कालीन नगर पञ्चायतले निर्माण स्वीकृति रद्द गरेको थियो ।
त्यसपछि २०५७ सालमा महानगरपालिकाको तत्कालीन नेतृत्वले नक्सा पासको प्रक्रिया नै पूरा नगरी सञ्चय कोषले हालको भवन निर्माण भएकामा पानीको भूमिगत संरचनाको मर्मत गर्ने र त्यसलाई थप क्षति नपुग्ने गरी भवनको डिजाइन परिवर्तन गर्नेगरी सम्झौता भएको थियो ।