वैदेशिक रोजगारीबारेको फिल्म ‘रियाल रिङ्गेट’ को साउन १६ देखि प्रदर्शन हुने
वैदेशिक रोजगारीको सामाजिक प्रभावको कथावस्तुमा बनेको फिल्म ‘रियाल रिङ्गेट’ साउन १६ देखि प्रदर्शन हुने भएको छ । निर्माता कम्पनी रेबेल फिल्म्सले शुक्रबार पोस्टर सार्वजनिक गर्दै उक्त मिति खुलाएको हो ।
विभोर पोखरेलले निर्देशन गरेको फिल्मका लगानीकर्ता गगनलाल प्रधान हुन् । पटकथा प्रदीप भारद्वाजको छ । नेपाली श्रमिकको प्रमुख गन्तव्यस्थल कतार, साउदी अरब र मलेसियाको मुद्राको नामबाट फिल्मको शीर्षक राखिएको छ ।
पोस्टरको ट्यागलाइनमा लेखिएको छ, ‘जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो ।’ फिल्ममा प्रमोद चौलागाईं, नीता ढुङ्गाना, छुल्ठिमडोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, बिमला गिरीको अभिनय छ ।