तरुण दलमा भाँडभैलो, सङ्गठनलाई मागीखाने भाँडो बनाएको भन्दै विरोध प्रर्दशन
काठमाडौं । तरुण दलका अध्यक्ष विद्वान गुरुङले सङ्गठनलाई मागीखाने भाँडो बनाएको भन्दै असन्तुष्ट पक्ष विरोधमा उत्रिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरूले पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनको लागि सडकमा उत्रिएका हुन् ।
तरुण दलको केन्द्रीय सदस्य रोजन राईले अध्यक्ष गुरुङले सङ्गठनको अधिवेशन गराउन नसक्ने निष्कर्षसहित आफूहरू विरोधमा निस्कन बाध्य भएको बताए ।
उनले भने, ‘महाधिवेशन गर्ने उहाँले अझै कुनै क्रियाकलाप अघि बढाउनुभएको छैन । केन्द्रीय सदस्यहरूसँग कुनै छलफल नै नगरी तरुण दललाई प्रालिको रूपमा अगाडि बढाउने प्रयास गरियो । त्यसैले हामीले विरोधमा उत्रिएका हौँ ।’
गत चैतमा पार्टीले दिएको वैधानिक समय सकिएको भन्दै आफूहरू अहिले अवैध केन्द्रीय सदस्य बन्न परेको बताए ।
उनले थपे, ‘उहाँले अधिवेशन गराउनेतिर नसोच्ने र एकलौटी ढङ्गले अगाडि बगाउन खोज्दै हुनुहुन्छ । बहुमत केन्द्रीय कमिटीसँग परामर्शपछि उहाँबाट अब अधिवेशन हुन नसक्ने निष्कर्षमा हामी पुगिसकेका छौँ ।’
उनले पार्टी सभापतिसहित पदाधिकारीसँग यसबारेमा आफूहरूले छलफल गरिसकेको पनि बताए । उनीहरूले वर्तमान नेतृत्वबाट तरुण दलको महाधिवेशन हुन नसक्ने ठहर भन्दै तदर्थ समितिको म्याद नथप्न आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा भनिएको छ, ‘तदर्थ समितिको मूल उद्देश्य र पार्टीले दिएको मूल जिम्मेवारी नै तरुण दलको महाधिवेशन हो भनेर हामी केन्द्रीय सदस्यहरूले भनिरहँदा उहाँ भने काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर लागिरहनुभयो । कहिले भइरहेको तरुण दलको घर भत्काएर नयाँ घर बनाउने भन्दै लाग्नु भयो ।’
उनले अधिवेशनको नाममा केन्द्रीय समितिलाई थाहै नदिई आफ्नै साथीहरू माझ हानाहान र काटमारको अवस्था सिर्जना गराएको आरोप लगाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘तरुण दलको सार्वजनिक सम्पत्ति घर बनाउँदा होस वा भत्काउँदा केन्द्रीय समितिलाई जानकारी हुन पर्दैन र ? तरुण दलको अधिवेशन कुन कुन जिल्लामा हुदैछ, को को केन्द्रीय प्रतिनिधि तोकिँदै छ केन्द्रीय समितिले थाहा पाउनु जरुरी छैन र ? यसैको परिणाम आज तीन वर्ष सम्म पनि महाधिवेशनमार्फत तरुण दललाई नयाँ नेतृत्व हस्तान्तरण गर्न नसक्ने असक्षम नेतृत्वको साक्षी वस्त्र परिरहेको छ ।
पटक म्याद थप्दा पनि महाधिवेशन गर्न नसक्ने त्यही नेतृत्व र त्यही प्रवृत्तिले फेरि महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने खोजेको उनीहरूको बुझाइ छ ।
‘कांग्रेसले अन्तिम पटक भन्दै समय थप्दा २०८१ चैत मसान्तबाट स्वतः विघटन हुने भन्ने भाषाको मर्म, धर्म र नैतिकतालाई आत्मसात् गर्दै नयाँ तदर्थ समितिको माग गर्दछौँ। फेरि म्याद थप गरिमाग्ने र तरुण दललाई मागिखाने भाँडो बनाउने विषयको विपक्षमा हामी बहुसङ्ख्यक केन्द्रीय सदस्यहरू रहेको जानकारी गराउँदछौँ’ विज्ञप्तिमा भनिएको छ।