Logo
१३ असार २०८२, शुक्रबार
(June 6, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मनसुनजन्य विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको आह्वान

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपद्को पूर्वतयारीमा जुट्न सरोकारवाला सबै पक्षलाई आह्वान गरेका छन् ।

दाङको लमही नगरपालिका-६, मध्यनगरमा शुक्रवार आयोजित लुम्बिनी प्रदेशस्तरीय एकीकृत अभ्यास हातेमालो–७ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मनसुनजन्य विपदबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारीलाई चुस्त बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । ‘कुनै पनि विपद् पूर्व जानकारी दिएर आउँदैन । त्यसैले हामी जहिल्यै पनि तयारी अवस्थामा रहनु पर्छ, मुख्यमन्त्री आचार्यले भने, ’अहिले गरिने पूर्वतयारीले विपद्बाट हुने क्षतिलाई घटाउँछ । मानिसलाई नयाँ जीवन दिन सघाउँछ ।’

उनले विपद् प्रतिकार्य अन्तर्गत खोज तथा उद्धारका लागि चाहिने सामग्रीको अभाव हुन नदिन सरकारले ध्यान दिने स्पष्ट पारे।

स्थानीय स्रोत साधनको उपयोग गर्दै आधुनिक उपकरण र सामग्री व्यवस्थापनमा सरकार गम्भीर रहेको, तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धारका सामग्री उपलब्ध गराइने जानकारी पनि दिए । साथै, उनले स्थानीय तह र समुदायसँगको सहकार्यबाट विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने भएकाले समुदायको सक्रिय परिचालनमा विशेष ध्यान दिइने बताए ।

यस वर्ष लुम्बिनी प्रदेश मनसुनजन्य विपद्बबाट बढी प्रभावित हुने प्रक्षेपण गरिएको भन्दै प्रदेश सरकारले तयारीलाई उच्च प्राथमिकतामा राखेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, ०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै असर पर्ने देखिएको छ । अनुमान अनुसार लुम्बिनीमा १ लाख १९ हजार ८३० घरधुरीका ५ लाख २३ हजार ६५६ जनसंख्या प्रभावित हुने सम्भावना छ ।

गत १० वर्षको तथ्यांक अनुसार लुम्बिनी प्रदेशमा मनसुनजन्य विपद्का १ हजार ६ सय १८ वटा घटना घटेका छन् । ती घटनामा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते र ३२ जना बेपत्ता भएका छन् भने ८ हजार ३१५ परिवार प्रभावित भएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेका अनुसार सबैभन्दा धेरै घटना ०८० सालमा २९२ वटा र सबैभन्दा बढी मानवीय क्षति २०७३ सालमा १०७ जनाको मृत्यु भएको छ ।

गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो र भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, ९ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । त्यसवेला करिब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

कार्यक्रममा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले विपद् प्रतिकार्यमा तीनवटै सुरक्षा निकायको साथ र सहयोगले क्षति न्यूनीकरण गर्न टेवा पुगेको बताए । सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ‘हातेमालो–७’ एकीकृत अभ्यास गर्दै विपद्को बेलाको अवस्था अनुसार खोज तथा उद्धार कार्यमा देखिने व्यवहारिक पक्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी प्रेमबहादुर पुन, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, रेडक्रसकर्मीका प्रतिनिधिले विपद पूर्वतयारीका लागि सचेत हुनुपर्ने बताएका थिए । सो अवसरमा सुरक्षाकर्मी तथा रेडक्रसले खोज तथा उद्धार, प्राथमिक उपचारमा प्रयोग हुने सामग्रीको प्रदर्शनीसहित प्रयोगको विधिबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति: Jun 6, 2025

प्रतिक्रिया दिनुहोस्