राजावादी गम्भीर ढंगले आए, हामी पनि गम्भीर हुनुपर्यो : सभापति शेरबहादुर
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक आज सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्यो। बैठकमा पार्टीको क्रियाशील सदस्यतादेखि भ्रातृ संस्थाको अधिवेशन हुँदै राजावादीको प्रदर्शनलगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन्।
आजको बैठकमा सभापति देउवाले राजावादीको पछिल्लो प्रदर्शनबारे ब्रिफिङ गरेका थिए।
बैठकमा सहभागी एक नेताका अनुसार देउवाले राजावादीको पछिल्लो प्रदर्शन गम्भीर हुने खालको भएको बताएका थिए।
‘राजावादीहरू सतर्कता अपनाउँदै, गम्भीर ढंग र योजना बनाएर लागेका छन्,’ देउवालाई उदृत गर्दै देउवाले भने, ‘हामीले पनि यस विषयमा गम्भीर हुनुपर्यो।’
आजको बैठकले गणतन्त्रको पक्षमा काठमाडौँमा आमसभा गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।
‘संविधानको पक्षमा पक्षमा सभा गर्ने भन्ने भएको छ। मिति र स्थान चाहिँ आगामी बैठकले तय गर्नेछ,’ उनले नेपालखबरसँग भने।
जेठ १५ गते गणतन्त्र दिवसकै दिन नेकपा एमालेले उत्सव भन्दै काठमाडौँमा झाँकीसहितको र्याली निकालेको थियो भने राजावादीहरू पनि त्यही दिनदेखि गणतन्त्रको विरोधमा प्रदर्शन गरिरहेका छन्।
सत्ता नेतृत्वकर्ता नेकपा एमालेले गणतन्त्रको पक्षमा विभिन्न कार्यक्रम गरेसँगै सत्ता साझेदार कांग्रेसले पनि संविधान र गणतन्त्रको पक्षमा सभा गर्न लागेको हो।