सुनकोशी-मरिण डाइभर्सनको ठेक्का रद्द हुन सक्छ : प्रधानमन्त्री
जनकपुरधाम — प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी कमला मरिण डाइभर्सनको ठेक्का रद्द हुन सक्ने बताएका छन् । आइतबार ‘एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम’को जनकपुरधाममा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचारभन्दा बढी आयोजना निर्माणमा ढिलासुस्ती गर्दा भइरहेको बताएका हुन् ।
२० वर्ष एउटै आयोजनाका लागि पर्खिने धैर्य जनता र सरकार नरहेको उनको कथन छ । ‘अब ढिला सुस्तीले चल्दैन् । भ्रष्टाचारभन्दा ठूलो काममा ढिलासुस्ती हो,’उनले भने,‘भ्रष्टाचारमा मात्र होइन, ढिलासुस्ती नियन्त्रणमा पनि सरकारले कडाइको साथ ध्यान दिन्छ ।’
मधेश प्रदेशको विकास तीव्र गतिमा हुने पनि प्रधानमन्त्री ओलीको भनाइ छ । १० हजारभन्दा बढी आवास कार्यक्रम र चक्रवातबाट बच्न ८ सय ७९ घर नेपाली सेनालाई हस्तान्तारण गरिएको उनले बताए । जनकपुरधाममा यात्रुको संख्याअनुसार रेल नभएको बताए ।
‘हाम्रो रेल घाटामा किन जान्छ भने हामी आफ्नो मान्छेलाई ट्रेनिङ नै दिँदैनौँ । अन्य ठाउँका मान्छेलाई किनेर बढी रुपैयाँ दिएर ल्याउँछौँ । हामीले आफ्नै जनतालाई यसको ट्रेनिङ दिनुपर्छ,’ उनले भने । प्रधानमन्त्री ओलीले मधेशमा पानीको सतह तल गइरहेको, सुख्खा रहेको र यस समस्यालाई समाधान गर्न चुरे जोगाउने ठोस योजना ल्याउने बताए ।
‘चुरेमा पानीको संग्रह गर्न सकियो भने, पोखरी बनाएर पानी राख्न सक्यो भने मधेस सिञ्चित हुँदो रहेछ’, उनले भने,‘यो प्रदेश गरिब नहुने प्रदेश हो । तर, कर्णाली भन्दा पछाडि छ ।’ आज डिजिटल प्रविधिमार्फत प्रधानमन्त्री ओलीले ६४ वटा सडकको शिलान्यास गरेका छन् ।
बाँध निर्माण र विद्युत् उत्पादन गृह ठेक्का सम्झौता अवधिको ४५ प्रतिशत समय पूरा भइसक्दा पनि प्रगति भने ७ प्रतिशतभन्दा उकालो लाग्न नसकेकाले कामको रफ्तार बढाई तोकिएकै समयमा सम्पन्न गर्न नलागे ठेक्का तोड्ने चेतावनीसमेत सरकारले दिएको छ ।
पटेल–रमण जेभीले सुनकोशी नदीमा बाँध निर्माण कार्य ४ वर्ष ७ महिनामा सक्ने गरी २०७९ साल माघमा सम्झौता गरी काम अघि बढाएकोमा अहिलेसम्म करिब सात प्रतिशत हाराहारीमा मात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।