Logo
३१ जेष्ठ २०८२, शुक्रबार
(June 1, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकाले राखेको युद्धविराम प्रस्तावमा हमासले राख्यो संशोधन

१८ जेठ, काठमाडौं । इजरायलसँग लडिरहेको हमासले अमेरिकाले राखेको ६० दिनको युद्धविराम प्रस्ताव संशोधन हुनुपर्ने माग राखेको छ ।

१० जना इजरायली बन्धकहरूलाई जिउँदै र १८ जना बन्धकहरूको शव फिर्ता गर्न तयार रहेको बताएको छ । तर त्यसको बदलामा केही प्यालेस्टिनी कैदीहरू रिहा हुनुपर्ने उसको माग छ ।

साथै आफ्ना पुराना मागहरू दोहोर्याउँदै हमासले भनेको छ– स्थायी युद्धविराम (युद्धको पूर्ण अन्त्य) हुनुपर्छ, सबै इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्छ र निरन्तर मानवीय सहायता सुनिश्चित गर्नुपर्छ ।

यी मागहरू अमेरिकाले प्रस्तुत गरेको हालको युद्धविराम प्रस्तावमा समावेश छैनन् । हमासले अमेरिकी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार पनि नगरेको र स्पष्ट रूपमा स्वीकार पनि नगरेको बीबीसीले जनाएको छ ।

अमेरिकी अधिकारीले भने इजरायलले युद्धविराम प्रस्ताव स्वीकार गरिसकेकाले अब हमासले पनि स्वीकार गर्नुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकोफले हमासले युद्धविराम प्रस्ताव निःशर्त स्वीकार गर्नुपर्ने बताएका हुन् ।

विटकोफले एक विज्ञप्तिमा भनेका छन्, ‘मलाई अमेरिकाद्वारा प्रस्तुत प्रस्तावमा हमासको प्रतिक्रिया प्राप्त भएको छ । यो पूर्ण रूपमा अस्वीकार्य छ । यसले शान्ति प्रक्रियालाई पछाडि तान्ने काम गर्छ । हमासले हाम्रो प्रस्तावलाई वार्ताको आधारका रूपमा स्वीकार गर्नुपर्छ, ताकि हामी अर्को हप्ता वार्ता सुरु गर्न सकौं । यही मात्र तरिका हो जसबाट हामी ६० दिनको युद्धविराम चाँडै लागू गर्न सक्छौं ।’

उता, इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहूको कार्यालयले भने अमेरिकी प्रस्ताव स्वीकार गरेको जनाएको छ । ‘इजरायलले आफ्ना बन्धकहरूको रिहाइका लागि विटकोफको प्रस्ताव स्वीकार गरिसकेको छ,’ इजरायलले भनेको छ, ‘हमास भने अझै पनि आफ्नो अडानमा कायम छ ।’

गाजामा स्थायी युद्धविराम, इजरायली सेनाको पूर्ण फिर्तीको मागबाट पछि नहट्ने अडानमा हमास छ । हमासलाई अमेरिका, बेलायत र युरोपेली संघले आतंकवादी संगठनको सूचीमा राखेका छन् ।

प्रकाशित मिति: Jun 1, 2025

प्रतिक्रिया दिनुहोस्