मध्यपहाडी अभियानलाई निरन्तरता दिने माओवादी केन्द्रको निर्णय
काठमाडौं, १६ जेठ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले मध्यपहाडी लोकमार्गअन्तर्गतको अभियानलाई पुनः निरन्तरता दिने निर्णय गरेको छ । आज (शुक्रबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको बैठकले आगामी जेठ २१ गतेदेखि २५ गतेसम्म मध्यपहाडी लोकमार्ग केन्द्रीत जनतासँग माओवादी अभियानलाई निरन्तरता दिने निर्णय गरेको हो ।
त्यस्तै बैठकमा पार्टी समायोजन भएर आएका नेताहरुको जिम्मेवारी तोक्नेबारे पनि छलफल भएको छ । नेपाल समाजवादी पार्टीबाट समायोजन भएर माओवादी केन्द्रको सचिव बनेका गंगानारायण श्रेष्ठ पनि आजको बैठकमा सहभागी थिए ।
‘पार्टी एकताको सन्दर्भमा जिम्मेवारी तोक्न बाँकीहरुको जिम्मेवारीको बारेमा, मध्यपहाडी जागरण अभियानको सम्बन्धमा छलफल भयो । यो जेठ २१ देखि २५ गतेसम्म फेरि सुरु हुन्छ,’– माओवादीका सचिव श्रेष्ठले भने ।
नेता श्रेष्ठले आफू समायोजनपछि माओवादी केन्द्रको सचिव बनेको भएपनि कार्य जिम्मेवारी भने नतोकिएको बताए । ‘अहिले कार्य जिम्मेवारी तोकिएको छैन । पदीय जिम्मेवारीमात्रै हो,’– रिपोटर्स नेपालका लागि मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।