मनाइयो एघारौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस
महिनावारी मैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ एघारौँ अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस मनाइएको छ। यसै अवसरमा काठमाडौंको वसन्तपुर र भक्तपुर दरबार क्षेत्रबाट साइकल र्याली निकालियो, जुन ललितपुरको मंगलबजारमा समापन भयो।
र्यालीपछि मंगलबजारमा आयोजित कार्यक्रममा राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष कृष्णकुमारी पौडेलले महिनावारी विभेद अन्त्यका लागि व्यवहार परिवर्तनमा जोड दिइन्। उनले महिनावारीलाई स्वस्थ, स्वच्छ र सुरक्षित तथा मर्यादित बनाउन घरदेखि राज्यसम्मको भूमिका महत्त्वपूर्ण हुने धारणा राखिन्।
ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले महिनावारीमा गरिने विभेद न्यूनीकरणका लागि समाजमा अझै चेतना फैलाउनुपर्ने बताइन्।
‘प्याडम्यान’ का रूपमा परिचित एक्सपोज नेपालका संस्थापक अध्यक्ष ज्ञान महर्जनले महिनावारी चेतनाका लागि आठ वर्षअघि पहिलो पटक पटक गरेको साइकल र्यालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जनामात्र महिला सहभागी भएको स्मरण गरे। अहिले करिब ४०० सहभागीमा ९० प्रतिशत महिलाको सहभागिताले हौसिएको उनले बताए।
हरेक वर्ष मे महिनाको २९ तारिखमा अन्तर्राष्ट्रिय महिनावारी स्वच्छ्ता दिवस मनाइन्छ।