गृहमन्त्रीले पद छाडेर अनुसन्धानलाई सघाउनु पर्छ : गगन थापा
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानलाई सघाउनुपर्ने बताएका छन् । अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जाने महामन्त्री थापाको भनाइ छ ।
नेपाली कांग्रेसको धरान उपमहानगर सम्मेलनमा बोल्दै महामन्त्री थापाले भने, ‘ …अनुसन्धान गृहमन्त्रीसम्म पुग्छ भने, अनुसन्धानको दायरामा आएको व्यक्ति पदमा रहिरहने विषय वैधानिक नभई राजनीतिक नैतिकता र वैधताको सवाल बन्न जान्छ । त्यस्तो अवस्थामा भने मन्त्रीको जिम्मेवारीबाट अलग भएर अनुसन्धानलाई सहयोग गर्ने कुरा वाञ्छनीय हुन्छ र उहाँले यसो नै गर्नुहुन्छ भन्ने पनि मलाइ उत्तिकै विश्वास छ ।’
साथै उनले भिजिट भिसा प्रकरणमा अनुसन्धानमा अलमल गर्न नहुनेमा समेत जोड दिए । ‘यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ । यससंगै भिजिट भिसाको नाममा हुने गरेको ठगिको धन्दा र यसको नेक्सस सधैलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ति र शोषणको अन्त्य गर्न कानूनी र प्रशासनिक सुधार तत्काल गर्नु आवश्यक छ’, उनले भने ।
राज्यका जिम्मेवार निकायमा रहेका अधिकारी र निकायहरुबाट सयौं नेपाली नागरिक ठगिनु र शोषणमा पर्नुले सबैलाई स्तब्ध बनाएको बताए । राज्यका अधिकारीहरूकै मिलेमतोमा भएका यस्ता हर्कतहरू गैह्रकानूनी र अमानवीय भएको उल्लेख गरे ।
‘यस्तो कुकृत्यमा संलग्न जोसुकै होस्, जुनसुकै पद, तह र तप्काको होस्, राजनीतिक नेतृत्व होस् वा प्रशासनिक होस्, पर्दा अगाडिको होस् वा पछाडिको होस् सबै कारवाहीको दायरामा ल्याउनैपर्छ । कोही पनि उम्कन हुँदैन, उम्कन पाउँदैन’, थापाले भनेका छन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमाथि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले अघि बढाएको छानबीन कुनै शक्तिको दबाबमा रोकिनु नहुनेमा उनको जोड छ ।
‘कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । कुनै अलमलमा नपरिकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँ सम्म पुगोस् यसका जरा, हाँगा बिंगा सबै खोज्नुपर्छ’, उनाले भने ।