त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरिएको छ । विभिन्न क्याम्पसबाट स्ववियु अध्यक्ष तथा अन्य पदाधिकारीहरूमा निर्वाचित भएका विद्यार्थीहरूले त्रिवि उपकुलपति प्राडा खड्क केसीको कार्यकक्षमा तोडफोड गरेका हुन् ।
उनीहरूले शैक्षिक क्यालेन्डर विपरीत परीक्षाको समयमा विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड गरेका हुन् । यसअघि विद्यार्थी नेताहरूले भर्ना खोल्न दबाब दिएका थिए । उनीहरूले रेक्टर कार्यालय र रजिस्ट्रारको कार्यालयमा तालाबन्दी पनि गरेका छन् । तोडफोडपछि उपकुलपति कार्यालयमा समेत तालाबन्दी गरेका छन् ।
सानोठिमी, भक्तपुर, पाटन र सरस्वती क्याम्पसमा नेविसंघबाट निर्वाचित भएका स्ववियु अध्यक्ष तथा अन्य सदस्यहरूले तोडफोड र तालाबन्दी गरेका हुन् । उनीहरूले परीक्षाको बेला अनियमित विद्यार्थी भर्ना गर्न दबाब दिँदै तोडफोड र तालाबन्दी गरेका हुन् ।