बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी सहित विपक्षी दलहरूको बैठक
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूको बैठक बसिरहेको छ । संघीय संसद भवनस्थित एक हलमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विपक्षी दलहरूको बैठक बसेको हो ।
तर, उक्त बैठकमा राप्रपा भने उपस्थित छैन । ‘हामीलाई बोलाइएको छैन त्यसैले बैठकमा गएका छैनौँ,’ राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने ।
यसअघि मंगलबार विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै संसद अवरोध गरेका थिए । आज पनि बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो, तर अझैसम्म बैठक बस्न सकेको छैन ।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका सचेतक र प्रमुख सचेतकसँग छलफलमा जुटेका छन् । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकले भेट गरेका छन् ।