‘राइड सेयरिङ’ विरूद्ध आन्दोलनमा उत्रिँदै यातायात व्यवसायी
काठमाडौँ । सार्वजनिक यातायात व्यवसायीले यही जेठ १६ गतेदेखि देशभर आन्दोलन गर्ने तयारी गरेका छन् ।
यातायात व्यवसायीहरुले पछिल्लो समय प्रदेश सरकारहरुले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावलीमा निजी सवारी साधनलाई पनि राइड सेयरिङ गर्ने पाउने व्यवस्थाका विरुद्धमा आन्दोलन गर्ने तयारी गरेको बताएका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वारले प्रदेश सरकारहरुले संघीय ऐन कानूनको बर्खिलाभ हुने गरी राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली ल्याएकोले त्यसको विरोधमा आन्दोलन गर्ने तयारीमा रहेको बताए ।
उनले गण्डकी प्रदेशमा आगामी १६ गतेबाट पूर्णरुपमा सार्वजनिक यातायात बन्द रहेको बताए । अध्यक्ष स्वारले प्रदेश सरकारहरुले विभिन्न प्रभावमा परेर १५ वर्ष पुरानो चारपाङ्ग्रे निजी सवारी साधन र १० वर्ष पुरानो मोटरसाइकललाई पनि राइड सेयरिङका रुपमा सार्वजनिक सवारी साधनको रुपमा चल्न दिने व्यवस्था ल्याएको बताए ।
उनले उक्त व्यवस्थाले सार्वजनिक यातायातको आवश्यकता नै नभएकाले त्यसको विरोधमा आन्दोलन गर्न लागिएको उल्लेख गरे ।
राइड सेयरिङ सम्बन्धित नियमन गर्ने नियमावली बागमती प्रदेशले बनाउने प्रक्रियामा रहेको र कोशीले बनाइ सकेको उनको भनाई छ । उनले राइड सेयरिङ थप व्यवस्थित सरकारले गर्नु पर्ने माग व्यवसायीहरुको भएको बताए ।
अध्यक्ष स्वारले सार्वजनिक यातायात बचाउ केन्द्रीय समिति गठन गरेर आन्दोलनमा उत्रने तयारी रहेको जानकारी दिए । यातायात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि पटक–पटक पहल गर्दा पनि सरकारले वास्ता नगरेको उनको भनाई छ ।
यातायात व्यवसायीहरुले सरकारले सार्वजनिक सवारीसाधनको अस्तित्व नै नरहने गतिविधि गरिरहेको गुनासो गरे । उनीहरुले कालो नम्बरप्लेटको अस्तित्व नै मेटिने गरी सरकारले रातो नम्बरप्लेटका सवारीसाधन सार्वजनिक सवारीको रुपमा ल्याउन खोजेको आरोप समेत लगाए ।
यी हुन् यातायात व्यवसायीहरूका माग
- पोखरामा गत जेठ १ गते राजपत्रमा प्रकाशित ‘गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ फिर्ता लिनुपर्ने
- कुनै पनि प्रदेशमा यस्तो व्यवस्था लागू गर्न नहुने
- सार्वजनिक सवारीको भाडा सरकारले तोक्ने तर राइड सेयरिङले आफैँ मनपरी भाडा तोक्ने र पठाओ, टुटल, इन्ड्राइभलाई राजस्वको दायरामा ल्याउनुपर्ने
- दुर्घटनाको प्रतिशत अत्यधिक बढेकाले यसलाई राज्यले नियमन गर्नुपर्ने
- नेपालका अनुसार न्यूनतम रकम विभिन्न एपमार्फत विदेश गइरहेको र यसलाई रोक्नुपर्ने