बजेट खर्च गर्ने क्षमता गुमाउँदै सरकार
सरकारले बजेट खर्च गर्न सक्ने क्षमता गुमाउँदै गएको छ। आगामी आर्थिक वर्षको बजेट ल्याउन दुई दिन बाँकी रहँदा चालू आवको ६६ प्रतिशत मात्रै रकम खर्च भएको छ।
सरकारले चालू आर्थिक वर्ष २०८१।८२ का लागि १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो। सोमवारसम्म कुल बजेटमध्ये जम्मा ६६ प्रतिशत बजेट खर्च भएको छ।
चालू आवका लागि ल्याइएको बजेटमध्ये ६ खर्ब ६१ अर्ब बजेट खर्च गर्नै बाँकी छ। ठूलो बजेट ल्याउने तर खर्च गर्न सरकार असफल हुँदै गएको छ।
विकासतर्फ अति कम बजेट विनियोजन गरेको सरकारले त्यही पनि खर्च गर्न सकेको छैन। पुँजीगत शीर्षकमा सरकारले २ खर्ब २३ अर्बभन्दा बढी रकम खर्च गर्न बाँकी छ।
यो वर्षका लागि सरकारले ऋणको साँवाब्याज तिर्न ३ खर्बभन्दा बढी बजेट छुट्याएको थियो। त्यसमा अहिलेसम्म २ खर्ब ६६ अर्ब बजेट मात्रै खर्च भएको छ।
अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्रीले नै बजेट कार्यान्वयनमा चासो नदेखाउँदा खर्च हुन नसकेको बताउँछन्।
उनका अनुसार प्रधानमन्त्रीले नै चालु बजेटको खण्डन गर्दै हिँड्ने गरेका छन्। तैपनि छुट्याइएको रकम पनि खर्च गर्न नसकेको पूर्वअर्थमन्त्री पुनले बताए।
पुनले भने‚ ‘आर्थिक रूपले राम्रो प्रगति गर्दै छु‚ देशलाई ठिक ठाउँमा लैजाँदै छु भनेर प्रधानमन्त्री भन्नुहुन्छ। बजेट बेठिक हुने, नीति तथा कार्यक्रम बेठिक हुने अर्थतन्त्र ठिक हुने कसरी हुन्छ ? नीति, कार्यक्रमको स्प्रिटमा बजेट कार्यान्वयन गर्न प्रधानमन्त्री तयार हुनुभएन।’
पूर्वअर्थमन्त्री पुनले प्रधानमन्त्री स्वार्थ समूहको इसारामा चलेको आरोप लगाए। स्वार्थ समूहको इसारामा फाइदा उठाउनतर्फ प्रधानमन्त्री, अर्थमन्त्री लाग्दा बजेट कार्यान्वयन प्रभावकारी बन्न नसकेको उनको तर्क छ।
चालू वर्षको बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य प्रक्षेपण गरे पनि ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि देखिएको उनले बताए। बजेटलाई इमान्दारीपूर्वक कार्यान्वयन गरेको भए राम्रो हुने बताउँदै प्रधानमन्त्रीले देशको अर्थतन्त्रलाई बुझ्न नसकेको आरोप लगाए।