युवा संघको विद्युतीय मतदानमा शान्तिपुर्वक युवाहरू सहभागी (तस्वीरहरू)
१३ जेठ, पोखरा । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आज बिहान साढे १० बजेदेखि सुरू भएको विद्युतीय मतदानमा शान्तिपुर्वक युवाहरू सहभागी भएका छन् ।
मतदान सकेर आजै मतगणना गर्ने निर्वाचन कमिटीले जनाएको छ । पोखरा सभागृहमा शुक्रबारदेखि युवासंघको महाधिवेशन जारी छ ।
पार्टी नेतृत्वले चाहेको व्यक्तिलाई सर्वसम्मत गराउने नाममा सुरुमा रोकिएको निर्वाचन प्रक्रिया सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।
अध्यक्ष पदमा क्षितिज थेबे र सुमन पुरी प्रतिस्पर्धामा छन् । थेबे निवर्तमान अध्यक्ष हुन् भने पुरी निवर्तमान महासचिव हुन् । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।
थेबेलाई एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले र पुरीलाई एमालेभित्र प्रभाव बढाउँदै गएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समूहले साथ दिएको युवासंघका नेताहरू बताउँछन् ।