राजावादीको आन्दोलन निष्क्रिय पार्ने रणनीति बनाउन एमाले जनसंगठनको बैठक च्यासलमा
काठमाडौँ । नेकपा एमाले जनसंगठनका पदाधिकारीको बैठक सुरु भएको छ ।
एमाले जनसंगठन संयन्त्रको आयोजनामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा जेठ १५गते एमालेले आयोजना गर्ने जनप्रदर्शनको तयारीमा केन्द्रित रहेको छ ।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकमा नेताहरू एमाले उपमहासचिव विष्णु रिमाल, सचिवहरू योगेश भट्टराई,लेखराज भट्ट,पद्मा अर्याल,गोकर्ण विष्ट लगायत सहभागी छन् ।
आइतबार बसेको एमाले सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उक्त दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको थियो ।
२०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले गणतन्त्र घोषणा गरेको हो । जेठ १५ गतेबाटै राजावादीहरूले पनि आन्दोलन गर्ने जनाएका छन् । उनीहरूले राजसंस्था पुनर्स्थापना नभएसम्म आन्दोलन नरोक्ने बताउँदै आएका छन् । त्यसका लागि उनीहरूले नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ गठन गरी गतिविधि गर्दै आएका छन् ।
राजसंस्था पुनर्स्थापनाको आन्दोलनमा राप्रपा, राप्रपा नेपाललगायत राजावादी, पुनर्रुत्थानवादीहरूको पनि साथ रहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूको आन्दोलन रोक्न निर्देशन दिइसकेका छन् ।सोही अनुसार सोमबारको बैठकबाट राजावदीको आन्दोलन निष्क्रिय पार्ने रणनीति तय गर्ने बताइएको छ ।