युनुसमाथि अनुसन्धान गर्न राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नक्कली भारतीय रकमको कारोबारसम्बन्धी मुद्दामा कैद सजाय भुक्तान गरी रिहा भएलगत्तै पक्राउ परेका युनुसमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि म्याद थप भएको छ ।
नक्कली भारतीय मुद्राको कारोबारमा उनको संलग्नतासँगै स्रोत नखुलेका करोडौं रकमको कारोबार देखिएका कारण नेपाल राष्ट्र बैंकको वित्तीय अनुसन्धान इकाइले प्रहरीलाई पत्राचार गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोअन्तर्गतको आर्थिक अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार राष्ट्र बैंकले केही महिना पहिल्यै पत्राचार गरेको हो, तर, अनुसन्धान गरिनुपर्ने व्यक्ति कारागारमा कैद भएको अवस्थामा यथेष्ट अनुसन्धान हुन नसकेको उनले बताए ।
‘स्रोत नखुल्ने रकमको कारोबारमा उनको संलग्नता देखिएको छ’, बोगटीले भने, ‘अनुसन्धानबाट खुलेका विषयमा उनको बयान र थप प्रमाणसहित हामी मुद्दाको म्यादभित्रै अदालत पेश गर्ने छौं ।’
राष्ट्र बैंकले उल्लेख गरेका कारोबारलाई अन्सारीले स्रोतसहित पुष्टि गर्न सकेनन् भने उनी फेरि जेल जाने सम्भावना रहेको अनुसन्धानरत प्रहरीहरु बताउँछन् ।