प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट, कामकाज ठप्प
प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएपछि भन्सार कार्यालयको सेवा ठप्प पार्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।
कुटपिटमा संलग्न नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहितलाई कारबाहीको माग गर्दै सेवा ठप्प पारिएको हो । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात रोकिएको छ । यस्तै भन्सार एजेन्ट महासंघ कैलालीले विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेको छ । उसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न कैलाली प्रशासनलाई आग्रह गरेको छ । उता भारतको एजेन्ट महासंघ गौरीफन्टाले पनि विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ ।
धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली स्कारपियोले भत्काएको सूचनापछि बिहीबार राति १० बजे नगर प्रहरी प्रमुख धामीको टोली उक्त गाडीको खोजीका लागि भन्सारको बेरियलसम्म पुगेको थियो । सो क्रममा भन्सार प्रमुख तिम्सिना र नगर प्रहरी प्रमुख धामीबीच विवाद भएको थियो ।
विवादपछि भन्सार कार्यालयभित्रै प्रवेश गरेर प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि कुटपिट भएको भएको हो । नगर प्रहरी प्रमुखले गरेको कुटपिटको भिडियो पनि भाइरल भएको छ । नगर प्रहरी निरीक्षक धामीले भने सामान्य धरपकड मात्रै भएको बताएका छन् ।