पूर्वराजा सपरिवार नारायणहिटी दरबार परिसरमा पूजाअर्चना
काठमाडौं, ११ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । राजावादीहरुले यही जेठ १५ गते राजसंस्था पूनःस्थापनाको लागि बृहत्त आन्दोलन गर्ने दिन नजिकिएसँगै शाहले पनि आफ्नो सक्रियता बढाएका छन् ।
यसअघि उनले तारे होटल सोल्टीमा राजावादी आन्दोलनका अगुवाहरूसँग सामूहिक लञ्च–मिटिङ गरेका थिए । हिजो (शनिबार) भने पूर्वराजा शाह सपरिवार नारायणहिटी दरबार परिसरमा धार्मिक कार्यको लागि पुगेका थिए ।
पत्नी कोमल र नाति हृदयेन्द्रसहित पुगेका ज्ञानेन्द्रले दरबार परिसरमा रहेको चतुव्र्युह धाम नारायण मन्दिरमा पूजाअर्चना गरेका हुन् । सो अवसरमा नेपाल ऋषि प्राज्ञ डा. जगमान गुरुङले शाह परिवारलाई स्वागत गरेका थिए । देशव्यापी भ्रमण गरेपछि शाहले गत माघबाट सक्रियता ह्वात्तै बढाएका छन् ।
पोखराबाट काठमाडौं आउने क्रममा हजारौंको संख्यामा उनका समर्थकहरुले काठमाडौं एयरपोर्टमा स्वागत गरेका थिए । त्यसपछि चैत्र १५ गते तिनकुनेमा राजावादीहरुको प्रदर्शन थियो । तर, त्यो प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसदिन दुई जना युवाको ज्यान गएको थियो । अहिलेपनि तिनकुने घट्नामा दुर्गा प्रसाईं प्रहरी हिरासतमा छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भर्खरै हाजिरी जमानीमा रिहा भएका छन् ।
राजावादीहरुले गणतन्त्र दिवसकै दिन पारेर राजतन्त्र पूनर्वहालीको माग राखेर आन्दोलन गर्ने घोषणा गरिसकेका छन् । त्यसको लागि उनीहरु फिल्डमा खटिएका छन् । कतिपय राजावादीहरुले त जेठ १५ गते पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबार प्रवेश गर्ने भनेर सञ्जालमा ठोकुवा गर्न थालेका छन् । यस्तोमा पूर्वराजा शाहले हिजो दरबार परिसरमा पुगेर पूजाअर्चना गरेका हुन्