साइबर क्राइम मुद्दामा गाउँपालिका अध्यक्ष पक्राउ
रूपन्देही । विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी बुटवलबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले चौधरी बुटवल प्रहरीको कमाण्डमा पक्राउ परेका नेपाल प्रेसलाई बताए ।
बलात्कृत युवती तथा परिवारको गोपनीयता सार्वजनिक गरेको अभियोगमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जीपछि उनी फरार थिए । उनी लोसपाबाट पालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।
रूपन्देही जिल्ला अदालतले जेठ १ गते इलाका प्रहरी कार्यालय बुटवललाई चौधरीलाई पक्राउ गर्न आदेश दिएको थियो । चौधरीलाई पक्राउ गरेर बुझाउन इलाका प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई सोमबार पत्राचार गरेको थियो ।