मंगलबार काठमाडौँमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने भन्दै कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन् । सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनको भनाई थियो ।
उनले मानवअधिकार आयोगका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए । अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरू स्थापित गरिने उल्लेख गरे ।
यस पटकको आफूहरूको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने उनले दाबी गरे । त्यस्तै केही दिन अघि प्रधानमन्त्री केपी ओलीले संसद्मा सम्बोधनका क्रममा ‘हामी त बुढो भयौँ, तपाईं चाहिँ भाग्न मिल्छ’ भन्ने अभिव्यक्तिको जवाफ दिँदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरूलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गरे ।
त्यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताको घर–घरमा गएर आफूहरूको आन्दोलनका बारेमा जनतालाई जानकारी गराउने बताए । अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताहरूले खाने उनले बताए । उनले अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन आग्रह गरे ।
अध्यक्ष थापाले जनताको उपस्थितिबाटै भ्रष्ट शासकहरूलाई पराजित गर्ने र आफ्ना एजेन्डा स्थापित गराएरै छाड्ने बताए ।