कार्यक्रममा बोलाउँदा नआउनेलाई अर्को पटक देखि नबोलाउन निर्देशन :प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि कार्यक्रममा सहभागी नहुनेहरुलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।
सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले यस्तो निर्देशन दिएका हुन्। उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरे।
काठमाडौं महानगरका प्रमुख साह समितिमा सदस्य रहे पनि बैठकमा जाने गरेका छैनन्। उनी सोमबारको बैठकमा पनि अनुपस्थित रहे।
कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरेको भन्दै उनीहरुको रेकर्ड हेरेर आगामी कार्यक्रमदेखि नाम नराख्न निर्देशन दिए। कुनै अर्थ र महत्व नै नबुझ्नेहरुको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाइ थियो।
‘कहिले पनि नआउने, नाम राखिरहनु पर्ने । मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ की क्या हो। कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ । कहिल्यै देखा पर्दैन । त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ । कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ।’ उनले भने, ‘आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइ राख्नुपर्ने । यस्तो हुँदैन । अर्को पल्टसम्ममा सोधीखोजि गर्नुहोला । हेर्नुहोला रेकर्ड को एक पटक पनि आउँदैन । त्यो रेकर्ड हेरेर आउने हो की होइन सोधेर नआउने भए नाम नराख्नु होला ।’
प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने पनि बताए।