गीता गुरुङको राजीनामापत्र प्रदेशसभामा उपस्थित नभए स्वीकृत नगरिने
रुपन्देही । वैशाख ३० गते मंगलबार जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङको नामबाट सार्वजनिक भएको राजीनामा पत्रको आधिकारिकतामै प्रदेश सभाले शंका गरेको छ । उनको नामबाट सभामुख तुलाराम घर्ती मगरलाई सम्बोधन गर्दै लेखिएको राजीनामापत्र उनकै श्रीमान कैलाश गुरुङले प्रदेश सभामा दिनुअगावै पत्रकार र सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए ।
गीता हाल बेलायत भएको र उनकै नामबाट हस्तलिखित निवेदन आएको भन्दै कैलाशले सबै पत्रकारलाई बाँडेका हुन् । समाचार आएको भोलिपल्ट गीताको नामबाट दाङ देउखुरीस्थित प्रदेश सभामा इमेल पठाइएको थियो । तर, प्रदेशसभामा यसअघि गीताले उपलब्ध गराएको इमेल ठेगाना र अहिले राजीनामा पठाएको इमेल ठेगाना नमिलेको, हस्ताक्षरसमेत फरक रहेको र पत्रको व्यहोरा पनि नमिलेको भन्दै प्रदेशसभाले शंका गरेको हो । प्रदेशसभा सचिवालयले पत्रको आधिकारिकतामा प्रश्न उठाउँदै गीता स्वयम् शशरीर उपस्थित नभएसम्म अघि नबढाउने जनाएको छ ।
सार्वजनिक भएको राजीनामा पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त छैन भन्ने लागेर आफूले राजीनामा दिएको उल्लेख छ ।
‘देशको हालको परिस्थितिबारे श्रीमानलाई अवगत नै होला,’ सभामुखलाई सम्बोधन गर्दै लेखिएको पत्रमा भनिएको छ, ‘तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता, आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ । राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो । जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजैको मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
तर, गीताले वैशाख महिनासम्मको सबै सेवासुविधा लगिसकेकी छन् । सत्ता साझेदार दल रहेको जनमत पार्टीका सांसद गुरुङको राजीनामा पहिले मिडियामा आएपछि प्रदेश सभा सचिव दुर्लभकुमार पुन, सभामुख तुलाराम घर्ती, जनमतका संसदीय दलका नेता सिके गुप्ता सबै आश्चर्यमा परेका थिए । उनी नेपाल नरहेको र बेलायतबाटै राजीनामा पठाएको बताउने उनका श्रीमान कैलाशले पनि सबै कुरा खुलाएका छैनन् ।
जनमत पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता, संसदीय दलका नेता सिके गुप्ता दुवैले गुरुङले पटक पटक मन्त्री मागेको तर दिन नसकेको बताएका छन् । कैलाशले भने मन्त्री नपाएर राजीनामा दिएको भनेर गलत चर्चा चलाइएको दावी गर्दै आएका छन् ।
प्रदेश सभा सचिव दुर्लभकुमार पुनले पत्रमा गौरवका साथ राजीनामा दिइएको शब्द लेखेपछि व्यक्ति आफै आएर बुझाउन केही समस्या नहुने बताए । गीताले यसअघि उपलब्ध गराएको इमेल ठेगाना, हस्ताक्षर र पत्रको व्यहोरा पनि नमिलेकोले प्रकृयामा अघि नबढेको उनी बताउँछन् ।
‘हामीलाई समाचार आएको धेरैपछि इमेलमा राजीनामा पत्र प्राप्त भयो । उहाँकै लेटरप्याडमा हस्तलिखित तर स्क्यान गरेको पत्र आएको छ । उहाँले यसअघि दिएको इमेल र अहिले आएको इमेल ठेगाना पनि मिल्दैन । हस्ताक्षर पनि फरक छ । अनि पत्रको व्यहोरा पनि नमिलेकोले प्रकृयामा नगएको हो,’ उनले भने ।
सभामुखले केही आशंका देखिएकाले व्यक्ति नै उपस्थित गराएर सनाखत गराउन भनेको पुनले बताए ।
‘जुन इमेलबाट आएको थियो, त्यही इमेलमा पत्राचार गरेर शरीर आउन भनेका छौं, केही जवाफ आएको छैन । अरु सम्पर्क पनि केही भएको छैन,’ उनले भने ।
सांसद गुरुङ आफैले इमेल गरेको भए जवाफ आउने र सम्पर्क गर्ने पुन बताउँछन् ।
‘बेनामे चिठ्ठीजस्तो देखिएको छ, सभामुखलाई गरिएको सम्बोधन र कुन पदबाट राजीनामा दिएको भन्ने नै खुलेको छैन,’ उनले भने ।
राजीनामा पत्र सार्वजनिक भएपछि प्रायः पत्रकारसँग पनि खुलेर नबोलेका कैलाश गुरुङ लामो प्रयासपछि शुक्रबार नेपाल प्रेसको सम्पर्कमा आए । उनले सांसद गुरुङको राजीनामा उनकै स्वकीय सचिव शारदा चौधरीको इमेलबाट प्रदेश सभामा पठाएको तर त्यसपछिको प्रकृया आफूलाई जानकारी नभएको बताए ।
‘मेडमले उताबाट पठाउनुभयो, त्यसैलाई स्वकीयको इमेलबाट उता पठाएको हो, राजीनामा पत्रमा सबैकुरा प्रष्ट लेखिएको छ,’ उनले भने, ‘जनमतका केही नेताहरुले गलत आरोप लगाए । मन्त्री नपाएर राजीनामा दिएको होइन । बस्न मन नलागेर हो । अरु वास्तविकता पछि भेटमा गरौंला, म व्यस्त छु,’ उनले यति भनेर फोन राखिहाले ।
कैलाशले स्वकीय शारदा चौधरीको इमेलबाट पठाएको भनिए पनि प्रदेश सभामा गीताको अर्को आइडीबाट इमेल गएको बुझिएको छ । यसअघि गीताले Gita Gurung नामको इमेल उपलब्ध गराएकोमा अहिले Geeta gurung इमेलबाट आएको प्रदेश सभाले जनाएको छ ।
जनमतका संसदीय दलका नेता सिके गुप्ताले गीताले पार्टीमा कुनै सल्लाह नगरी राजीनामा मिडियामा सार्वजनिक गरेको बताए । आफूहरुलाई गलत आरोप लगाएको, पार्टीको सम्पर्कमा लामो समय नरहेको विषयमा कारबाहीका लागि आजै दलको बैठक बसेर निर्णय लिने उनको भनाइ छ ।
‘यस्तो पनि हुन्छ ? समानुपातिक सांसद बनेको मान्छे पार्टीको सम्पर्कमा नरहने, दलको बैठकमा नआउने, नेताहरुलाई अनावश्यक आरोप लगाउने, राजीनामाको अनावश्यक हल्ला चलाउनेलाई तत्काल कारबाही गरिन्छ । आजै दलको बैठक बसेर पार्टीमा सल्लाह गरेर अघि बढ्छौं,’ उनले भने ।
गीताले राजीनामा दिएको औपचारिक जानकारी नै पार्टीलाई नरहेको उनी बताउँछन् । बरु पार्टीले नै उनलाई पहिलेदेखि राजीनामा गर्न भनेको गुप्ताको भनाइ छ । आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको तर त्यसको औपचारिक पत्र आफूसँग नआएको उनले बताए ।
‘गुरूङ पार्टीको सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको सत्य हो । सदनमा पनि अधिकांश दिन उपस्थित हुनुहुन्न । राजीनामा आए स्वीकृत गर्ने हो । विधिमा बस्नुपर्छ । उहाँलाई छनौट गर्दा नै गलत गरियो भन्ने लागेको छ’, उनले भने ।
गुरुङका छिमेकीका अनुसार गीता केही समयअघि बेलायत गइसकेकी छन् । राजनीतिमा आउनुअघि छोराछोरीसहित बेलायत बस्दै आएकी गीता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी हुन् । जनमत पार्टीको केन्द्रीय सदस्य रहेका उनका श्रीमान कैलाश गुरुङ गत चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेसँगै गीताको पार्टीसँग दूरी बढेको नेताहरुको भनाइ छ ।
जनमतका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले कैलाशले श्रीमतीलाई मन्त्री बनाउन पटक पटक कुरा राखेको तर तीन सांसद रहेको पार्टीबाट कोही पनि मन्त्री नरहेकाले र अहिले ढुक्क भन्न नसकिने बताएपछि उनीहरु असन्तुष्ट भएको बताए । जनमतबाट लुम्बिनीमा ‘सिके गुप्ता, सुमन रायमाझी र गीता गुरुङ तीन जना सांसद छन् ।