उरुग्वेका पूर्वराष्ट्रपति ‘विश्वकै गरिब राष्ट्रपति’ होसे मुहिकाको निधन
काठमाडौँ — उरुग्वेका पूर्वराष्ट्रपति होसे मुहिकाको निधन भएको छ । पेपे नामले चर्चित उनी ८९ वर्षका थिए । पूर्वगुरिल्लासमेत रहेका मुहिका आफ्नो साधारण जीवनशैलीका कारणले ‘विश्वकै सबैभन्दा गरिब राष्ट्रपति’का रूपमा समेत चिनिन्थे । उनी सन् २०१० देखि २०१५ सम्म उरुग्वेका राष्ट्रपति बनेका थिए ।
उरुग्वेका राष्ट्रपति यामाण्डु ओरसीले मुहिकाको निधनबारे जानकारी दिँदै एक्समा लेखेका छन्, ‘तपाईंले हामीले जे दिनुभयो, त्यसका लागि र नागरिकप्रति तपाईंको गहिरो मायाका लागि धन्यवाद ।’ मुहिकाको मृत्युको कारण नखुलाइए पनि उनी केही समयदेखि आन्द्राको क्यान्सरबाट ग्रसित थिए ।
५ वर्षे कार्यकालमा मुहिकाले राष्ट्रपति भवनमा नबसेर आफ्नै घरमा बसेर कार्यभार सम्हालेका थिए । उनी दुई कोठावाला घरमा बसे । उनी आफ्नो पारिश्रमिकको ९० प्रतिशत हिस्सा दान दिन्थे । पत्नीसँग मिलेर उनले फूलखेतीसमेत गरे । राष्ट्रपति हुँदासमेत कुवाबाट पानी भरेको र लुगा धोएका तस्बिरहरू सार्वजनिक भएका थिए । सादगीपूर्ण जीवन पक्षपाती र उपभोक्तावादको कट्टर आलोचक थिए मुहिका । उनकै पालमा मनोरञ्जनात्मक उद्देश्यका लागि गाँजाको प्रयोगलाई वैधानिकता दिने मुलुक बनेको थियो उरुग्वे ।
मोन्टेभिडियोको मध्यमवर्गीय परिवारमा हुर्किएका मुहिका राजनीति, पुस्तक र खेतमा काम गर्ने रुचि आमाबाट आएको बताउँथे । युवावयमा उनी उरुग्वेको परम्परागत राजनीतिक शक्ति नेसनल पार्टीमा आबद्ध थिए । सन् १९६० को दशकमा उनले तुपामारोस राष्ट्रिय मुक्ति आन्दोलन(एमएलएन-टी) बनाउन मुख्य भूमिका खेले । उक्त वामपन्थी सहरी गुरिल्ला समूहले आक्रमण, अपहरण र दुश्मनको सफाया अभियान चलायो । मुहिका भने आफूले कहिल्यै पनि कसैको हत्या नगरेको बताउँदै आएका थिए ।
क्युबाली क्रान्ति र अन्तर्राष्ट्रिय समाजवादबाट प्रभावित एमएलएन-टीले उरुग्वे सरकारविरुट गुप्त प्रतिरोधी अभियान चलाएको थियो । त्यसक्रममा मुहिका चार पटक पक्राउ परे । सन् १९७० मा उनलाई ६ पटक गोली लागेर पनि बाँच्न सफल भएका थिए । उनी दुई पटक जेलबाट समेत भागे । एक पटक एमएलएन-टीका अन्य १०५ बन्दीसँग उनी सुरुङबाट भागेका थिए ।
सन् १९७३ मा सैनिक ‘कु’ का क्रममा उनलाई समेत बन्धक बनाइएको थियो । त्यसक्रममा उनी करिब १४ वर्ष जेलसमेत बसे । झन्डै एक दशकको सैनिक शासनपछि उरुग्वेमा १९८५ मा प्रजातन्त्र पुन:स्थापना भएको थियो । जेलमा रहेका बेला आफूमा पागलपन सवार भएको मुहिका बताउँथे । उनकै अनुसार बन्दीजीवनका क्रममा उनी कमिलासँग समेत कुरा गर्थे । जेलबाट छुट्दाको समय जीवनको सबैभन्दा खुसीको क्षण भएको उनी बताउँथे । ‘राष्ट्रपति हुने कुरा त त्यो क्षणसँग तुलनै हुँदैन,’ उनी भन्थे ।
जेलबाट छुटेको केही समय उनी उरुग्वेको ततल्लो सदन ‘च्याम्बर अफ रिप्रेजेन्टेटिभ्स’ र माथिल्लो सदन ‘सिनेट’ का सदस्यसमेत भए । सन् २००५ मा उनी वामपन्थी गठबन्धन ‘ब्रोड फ्रन्ट’ को सरकारमा मन्त्री बने । उनी सन् २०१० मा ७४ वर्षको उमेरमा राष्छ्रपति बनेका थिए । ल्याटिन अमेरिकी देशहरू ब्राजिलमा लुला डी सिल्भा, भेनेजुएलामा ह्युगो चाभेजजस्ता वामपन्थी नेताहरू राष्ट्रपति बन्दा मुहिकाको सत्तारोहणलाई समेत महत्त्वपूर्ण राजनीतिक घटनाका क्रममा हेरिएको थियो ।
राजनीतिक टिप्पणीकारहरूको भनाइमा मुहिकाले आफ्नै शैलीमा सरकार चलाए । कैयौं पटक त उनले व्यवहारिकता र साहसको परिचय दिए । उनको प्रशासनमा उरुग्वेको अर्थतन्त्र ५.४ प्रतिशत औसत वार्षिक दरले बढ्यो । उरुग्वेमा गरिबी र बेरोजगारी कम गर्न पनि उनले उल्लेख्य भूमिका खेले ।
भनिन्छ, ‘मुहिका आफू गरिबै रहे, देशलाई धनी बनाए ।’ उनकै कार्यकालमा त्यसैगरी सामाजिक सुधारका कानुनहरू जस्तै गर्भपतनलाई वैधानिकता, समलिंगी विवाहलाई मान्यताजस्ता प्रावधानले पनि उरुग्वेले वैश्विक ध्यान तान्न सफल भएको थियो । प्राय: क्याजुयल ड्रेसमा देखिने मुहिका आफैं १९८७ मोडेलको नीलो रंगको फक्सवागन बिटल चलाएर हिँड्थे ।
उनलाई सबैले संसारकै सबैभन्दा गरिब राष्ट्रपति भनिए पनि उनी भने अस्वीकार गर्थे । उनी भन्ने गर्थे, ‘मलाई सबैभन्दा गरिब राष्ट्रपति भन्ने गर्छन् । तर म होइन । गरिब ती हुन जसले अझ बढी चाहन्छन् । उनीहरू अन्त्यहिन दौडमा छन् ।’ सन् २०२० मा उनले राजनीतिबाट सन्न्यास लिए पनि उरुग्वेमा भने उनी चर्चित व्यक्तिकै रूपमा थिए । गत वर्षको नोभेम्बरमा उनले बीबीसीसँगको अन्तर्वार्तामा भनेका थिए, ‘हामीलाई थाहा छ कि मृत्यु अकाट्य छ । सायद यो जिन्दगीको नुनजस्तै छ ।’