जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक : प्रचण्ड
सुर्खेत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा फेरि एउटा नयाँ क्रान्तिको नेतृत्व गर्न चाहेको बताएका छन् ।
सोमबार वीरेन्द्रनगरमा आयोजित वाइसिएल नेपालको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘जनताको गणतन्त्र बनाउनका लागि फेरि एउटा नयाँ क्रान्तिको आवश्यक छ । समाजवादी क्रान्तिका लागि सङ्घर्ष गर्नुपर्ने छ ।’
माओवादीले क्रान्ति गरेर ल्याएको गणतन्त्रको निर्वाचन प्रणाली लुटेरा भएको टिप्पणी प्रचण्डको छ । ‘यो लुटेरा प्रणाली भयो, एउटै उम्मेदवारले करोडौँ खर्च गर्नुपर्ने अवस्था भयो,’ उनले भने, ‘यो परिवर्तन गर्नुपर्ने आवश्यक छ । हामी संविधान संशोधनको पक्षमा छौँ । राजनीतिक स्थायित्व र अर्थतन्त्र कायम गर्नका लागि आवश्यक छ ।’
साथै प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्नेमा उनले जोड दिए । गणतन्त्रलाई जनताको गणतन्त्र बनाउन सङ्घर्ष गर्नुपर्ने प्रचण्डले बताए ।
‘माओवादी पनि बिग्रेको हो की भन्ने जनताको मनमा लागेको होला, अझ घाइते, सहिदले सम्झने नै भए,’ उनले भने, ‘त्यसैले हामी पुनः जनतामा फर्कने प्रयास गरेका छौँ ।’
फरक प्रसङ्गमा बोल्दै उनले राजावादीहरू कायर भएको बताए । पछिल्लो समय राजावादीहरू सलबलाए उल्लेख गर्दै राजावादीको प्रतिवाद गर्न र उनीहरूको आन्दोलनलाई निस्तेज पार्न सम्पूर्णमा आग्रह गरे ।