Logo
१ असार २०८२, आईतबार
(May 7, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौँडामा जमिनमा भासिएर गाडी हराएको विषयमा भूगर्भविद्ले गरे १० घण्टा लामो अध्ययन

जमिन भासिएर रोकिराखेको गाडी हराएको विषयमा हेटौँडामा भूगर्भविद्ले अध्ययन थालेका छन् । मङ्गलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका ४ जना प्राविधिक टोलीले अध्ययन थालेका हुन् ।

हेटौँडा १६ र १७ को सिमाना स्थित गैरी गाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन थालिएको हो । भूगर्भविद् कृष्ण पाण्डे र मणी खनाल लगायतको टोलीले मङ्गलबार बिहान ९ बजेदेखि ७ बजेसम्म अध्ययन गरेका हुन् ।

उनीहरुले प्रोटोन म्याग्नेटो मिटर, पावर अगर लगायतका विधि मार्फत अध्ययन गरेका हुन् । भूगर्भविदहरुले घटना स्थलको आसपासको भौगोलिक अवस्थिति, भू बनोट, माटोको सतह लगायतको विषयमा अध्ययन गरेका थिए भने गाड भासिएको स्थान पत्ता लगाउन म्याग्नेटो मिटर र पावर अगर मार्फत अध्ययन गरेका थिए ।

सुरुवातमा भूगर्भ विदहरुले स्थलगत रूपमा गाडी भासिएको क्षेत्रको भुवनोट अवलोकन गरेका थिए भने भूगर्भ विभागले अध्ययन गरेर जारी गरेको सो क्षेत्रको नक्सांकनका विषयमा अध्ययन गरेका थिए ।

भूगर्भविद् अधिकारीका अनुसार सो क्षेत्रको भुबनोट निकै कमजोर र तरलता युक्त रहेको छ । माथिल्लो भागमा केही माटो भरिएपनि तल्लो भागमा बालुवा तथा दलदल युक्त माटो रहेको उनले बताए ।

उक्त भू-बनोटका कारण गाडी भासिएको स्थानमा प्रेसर जेनेरेट भएर जमिन तरलतामा परिणत भएको उनले बताए । घटना स्थलको भू बनोट ग्लेइ सिल्ड तथा ५ मिटर तल बालुवा भेटिएको उनले बताए ।

भूमिगत पानी नजिक रहेको उक्त बालुवा भएको क्षेत्रमा केही डाइनामिक लोड परेमा एजिटेड हुने र वैज्ञानिक भाषामा सेयर स्ट्रेन्थ शून्य हुने उनले बताए । जसले गर्दा उक्त क्षेत्रको माटो ठोस नभएर तरल बन्ने अवस्था रहने उनले बताए ।

अध्ययन टोलीले गाडी भासिएको स्थान आसपास म्याग्नेटो मिटर प्रयोग गरेर गाडीको लोकेसन पत्ता लगाउने काम भएको उनको भनाई छ । उनका अनुसार म्याग्नोटो मिटरले गाडी भासिएको स्थानमा बनेको खाल्डो भन्दा केही पूर्व तर्फ ‘मेटल डिटेक्ट’ भएको छ । सो क्षेत्रको चुम्बकीय आकर्षण निकै बलियो र कडा रहेको उनले बताए ।

म्याग्नेटो मिटर अप्रत्यक्ष रूपमा फलामजन्य वस्तु पत्ता लगाउने विधि भएकाले सो स्थानमा गाडी नै छ भन्न नसकिने उनको भनाई छ ।म्याग्नेटो मिटरले लोकेट गरेको स्थानमा भूगर्भ विदको टोलीले ३ स्थानमा पावर अगर विधिबाट गाडीको लोकेसन पत्ता लगाउने काम गरेको थियो ।

जसमा जमिन मुनी ६ मिटरमा फलाम जन्य वस्तु रहेको निश्चित गरेको उनले बताए । पावर अगर ‘ड्रिलिङ’ मेथड भएकाले ३ स्थानमा गरिएको परीक्षण मध्ये २ स्थानमा ५.४० मिटर र ५.६० मिटर (करिब ६ मिटर) मा फलाम जन्य वस्तु रहेको उनको भनाई छ ।

पावर अगर गरिएका मध्ये एउटामा रड ८ मिटरको गहिराइसम्मा सजिलै गएको र त्यसपछि गरिएका दुई वटा ड्रिलिङका क्रममा ड्रिल रड जम्मा ६ मिटरसम्म मात्रै धसेको उनले बताए ।

‘हामीले म्यग्नेटो मिटर प्रयोग गर्दा खाल्डो भएको स्थानको पूर्व तर्फ चुम्बकीय आकर्षण बढी फेला परेको थियो । सोही अनुसार पावर अगर मार्फत ३ स्थानमा ड्रिल गर्दा २ स्थानमा कडा फलामजन्य पदार्थ रहेको तथ्य पत्ता लागेको छ ।’ उनले भने, ‘त्यो गाडी नै हो भन्न सकिन्न । हामीले गाडीका पाटपूर्जा भेट्ने गरी खोजेका होइनौ । हामीले हाम्रो भूगर्भ शास्त्र अनुसार उक्त स्थानको ५.४० र ५.६० मिटरमा फलामको आकर्षण बढी रहेको छ । पावर अगरको विधि पनि सो स्थानभन्दा तल पुग्न सकेन । जसका कारण सो स्थानमा गाडी हुन सक्छ भन्ने अनुमान रहेको छ ।’

गाडीको अवस्था र उक्त विषयको थप अध्ययन बुधबार पनि जारी रहने उनले बताए । बुधबार बिहानबाट फलामजन्य वस्तु लोकेट भएको स्थानको आसपास पुन पावर अगर प्रयोग गरी ड्रिल गर्ने र सो पश्चात् अन्य भौगोलिक अध्ययन गर्ने तयारी रहेको उनले बताए । सो स्थानको माटो तला भूमिगत जलको परीक्षण गर्ने गरी केही नमुनाहरू पनि सङ्कलन गरिएको उनको भनाई छ ।

गत शुक्रबार उक्त स्थानमा जमिन भासिएर ना ४ च ४८३३ नम्बरको उक्त गाडी घाँस काट्ने मेसिन लोड गरेर त्यहाँ पुगेर रोकिराखेको अवस्थामा अगाडिको पाङ्ग्रा भासिएको र जग लगाएर निकाल्ने क्रममा एक्कासि जमिनमै भासिएर बेपत्ता भएको थियो ।

लगातार ३ दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले आइतबार उक्त स्थानको अध्ययनका लागि भूगर्भविद्लाई ल्याएर अध्ययन गर्ने गरी पत्राचार गरेको थियो ।

 

प्रकाशित मिति: May 7, 2025

प्रतिक्रिया दिनुहोस्