Logo
३ असार २०८२, मंगलबार
(May 5, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपत्यका विकास प्राधिकरणविरुद्ध धर्ना बसे बुढानीलकण्ठका नगरप्रमुख

काठमाडौं, २२ वैशाख । बुढानीलकण्ठ नगरपालिकाले सोमवार काठमाडौं उपत्यका विकास प्राधिकरणको अनामनगरस्थित कार्यालयमा विरोधस्वरूप धर्ना दिएको छ । नगरप्रमुख मिठाराम अधिकारीको नेतृत्वमा आयोजित उक्त धर्ना विकास प्राधिकरण तथा काठमाठौं जिल्ला आयुक्तको कार्यालयले बुढानीलकण्ठ क्षेत्रका सबै योजनामा ढिलासुस्ती र गैर जिम्मेवार देखिएको भन्दै गरिएको हो ।

नेपाली काँग्रेस प्रदेश निर्वाचन समितिका सभापति रामप्रसाद लुइँटेलका अनुसार यस विरोध कार्यक्रममा खासगरी कपन क्षेत्रको डुबान समस्या समाधानमा प्राधिकरणको चरम लापरबाहीप्रति भत्र्सना प्रकट गरिएको छ । झण्डै तीन वर्षअघि ठेक्का दिइएको आयोजनाले दुई वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ३० प्रतिशतमात्र काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

सो कार्यप्रति सबै सम्बद्ध निकाय गम्भीर नभएको भन्दै बर्षाकालमा नागरिकले डुबान, दुर्गन्ध र जनस्वास्थ्य समस्याजस्ता सास्ती व्यहोर्नु परिरहेको उल्लेख गरिएको छ । धर्ना कार्यक्रममा बुढानीलकण्ठ नगरका १०, ११ र १२ का वडाध्यक्षहरू, पूर्व प्रदेश सांसद तथा स्थानीयवासीहरूको उपस्थिति थियो ।

उनीहरूले तत्काल समस्या समाधान र ढिलाइ भएका सबै योजनालाई कार्यरूपमा अघि बढाउन प्राधिकरण र सम्बद्ध जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरे । नगरप्रमुख अधिकारीले नागरिकको अधिकार र जनसरोकारका विषयमा उदासीनता देखाउने कुनै पनि निकायको व्यवहार स्वीकार्य नहुने भन्दै चेतावनी दिए । ‘जबसम्म ठोस प्रतिबद्धता प्राप्त हुँदैन– तबसम्म कार्यालय प्रवेश अवरुद्ध राखी धर्ना जारी राखिनेछ’ अधिकारीले भने ।

प्रकाशित मिति: May 5, 2025

प्रतिक्रिया दिनुहोस्