Logo
१४ असार २०८२, शनिबार
(May 4, 2025)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेटौंडामा सडक भासिएर खाल्डोमा गाडीएको बोलेरो भ्यान अझै भेटिएन

हेटौंडा — हेटौंडामा शुक्रबार जमिन भासिएर हराएको गाडी अहिलेसम्म पनि फेला परेको छैन । गुड्दागुड्दै सडक भासिएपछि बोलेरो भ्यानका चालक र सहचालक निस्किएर ज्यान जोगाउन सफल भएका थिए ।

आइतबार उक्त घटनाका बारेमा हेटौंडा उपमहानगरपालिकामा विपद् व्यवस्थापन समितिको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसमेतको सहभागितामा समितिको बैठक बसेको हो । बैठकले भूगर्भविद्लाई ल्याएर अध्ययन गरेपछि मात्र गाडीको खोजी गर्ने निर्णय गरेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले बताइन् । उक्त क्षेत्रमा अहिले आउजाउ बन्द गर्ने निर्णयसमेत विपद् समितिले गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा सडक भासिँदा ना ४ च ४८३३ नम्बरको भ्यान जमिनमुनि बेपत्ता भएको मकवानपुर प्रहरीका प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार एक्कासि सडक भासिदा उक्त भ्यान बेपत्ता भएको हो । गाडी भासिँदै गएपछि सडकमै पानीको दह बनेको प्रवक्ता अर्यालले बताए । गाडीका चालक र सहचालक भने गाडी भासिनुअघि नै निस्किएर जोगिएका थिए । गाडी भासिएको करिब ५ सेकेन्डमै हराएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

गाडी भासिएको ठाउँनजिकै माछापालन गरिएको पोखरी र बोरिङसमेत रहेको छ । बोरिङका कारण जमिन भासिन पुगेको अनुमान लगाइएको छ । शनिबार दिनभर पानीमा भासिएको गाडी नदेखिएको र पानीलाई निकास दिएर गाडीको खोजी कार्य गरिएको थियो । तर गाडी फेला पार्न सकिएन प्रवक्ता अर्यालले भने ।

प्रकाशित मिति: May 4, 2025

प्रतिक्रिया दिनुहोस्