आज बिहानैबाट राजधानीमा वर्षा, खराब मौसमले उडान प्रभावित
काठमाडौँ । काठमाडौँमा आज बिहानैबाट वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको हो ।
हल्का वर्षा भइरहे पनि काठमाडौँको आकाश धुम्म भइरहेको छ । प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान समेत प्रभावित बनेका छन् । काठमाडौँबाट विभिन्न स्थानमा हुनुपर्ने उडानहरू डिले भएका छन् ।
मौसमविद्ले आगामी दुई दिनसम्म देशका अधिकांश स्थानमा बदली र वर्षाको सम्भावना रहेको बताएका छन् । बागमतीसँगै कोशी र मधेस प्रदेशका जिल्लाहरूमा बिहानैदेखि पानी परिरहेको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।